स्वास्थ्य संकटमा परेपछि केसीलाई रातारात नाइटभिजन हेलिकप्टरबाट काठमाडौं ल्याइयो

Advertisement

काठमाडौं । संसदीय समितिबाट पारित चिकित्सा शिक्षा विधेयकको विरोधमा नौ दिनदेखि इलाममा अनशन बस्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेपछि बिहीबार राति अचानक काठमाडौं ल्याइएको छ ।

उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । स्वास्थ्य चिन्ताजनक देखिएपछि तत्कालै सेनालाई भनेर नाइटभिजन हेलिकोप्टर मगाइएको थियो । केसीको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

केसी अनशन बसेको ठाउँमा हेलिकोप्टर ल्यान्ड गर्न नसक्ने उनलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याएर हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । त्यसअघि उनको इलाम अस्पतालमा उपचार भएको थियो । राति भद्रपुर पुगेको हेलिकोप्टर केसीलाई लिएर बिहानपख मात्रै काठमाडौँ आइपुगेको थियो ।

केसीलाई काठमाडौं ल्याउन माथेमा आयोगका संयोजक केदारभक्त माथेमा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलगायतले पहल गरेका थिए । अनशन बसेको चाँडैको नै केसीको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि अस्पताल लगिएको थियो । इलाम अस्पतालमा आइसियूलगायत व्यवस्था नभएकाले अन्यत्र लैजान चिकित्सकहरूले सुझाब दिएका थिए ।

केसीलाई निमोनियासँगै मुटुको चालमा गडबडी देखिएको थियो । उनलाई सुईबाटै एन्टिबायोटिक दिन सुरु गरिएको थियो । सहमतिविपरित सरकारले चिकित्सा शिक्षा विद्येयक पास गर्ने संकेत देखिएपछि केसीले पुनः अनशन सुरु गरेका थिए ।

Advertisement

Advertisement

Advertisement