डा. केसीका समर्थकहरुको प्रश्न– प्रधानमन्त्री संसदमा अल्पमतमा पर्या हो र ?

Advertisement

काठमाडौं । डाक्टर गोविन्द केसीका समर्थक एवं अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सरकारले केसीसँग गरेको सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लवमा आइतबार उनले भने, ‘सरकारले नै अहिलेको समस्याको सिर्जना गरेको हो । अब यसको समाधान पनि सरकारले नै गर्न सक्छ ।’

डाक्टर केसीको अनशन आम नागरिकको पक्षमा रहेको भण्डारीको भनाई छ । दुई तिहाईको नाममा वर्तमान सरकार निरंकुश बन्दै गइरहेको पनि उनले आरोप लगाए । भण्डारीले थपे, ‘सरकारले केसीसँग गरेको सम्झौता पूर्णरुपमा पालना गर्नुपर्छ ।’ अबको समाधान भनेको नै सरकार लचिलो बन्नुपर्ने उनले सुझाए ।

आफूहरुले अहिले संविधानको सर्वोच्चतामा रहेकोले प्रधानमन्त्री केपी ओलीले केसीसँग गरेको सम्झौता पूरा गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्रधानमन्त्री भनेको त मुलुकको अभिभावक हो । अभिभावकले ढाँट्दैन् ।’

भण्डारीले भने, ‘कतै प्रधानमन्त्री संसदमा अल्पमतमा त हुनुहुन्न भन्ने प्रश्न उब्जिएको छ । उहाँले आफै सम्झौता गरेको कुरा किन लागू गर्नुभएन ? किन सम्झौता कार्यान्वयन गर्नुभएन ? प्रधानमन्त्रीजस्तो व्यक्तिले उदण्ड रुपमा बोल्न मिल्दैन् ।’

डाक्टर केसी निष्ठापूर्वक देश र जनताको पक्षमा अनशन बसेको भण्डारीको भनाई छ । तर, केसीको विरुद्धमा विजय थापा अनशन बसेको कुरालाई अनशनको रुपमा लिन नसकिने उनको तर्क छ । भण्डारीले भने, ‘विजय थापा निष्ठापूर्वक अनशन बसिरहेका होइनन् । उनलाई कसैले उक्साएका छन् ।’

डाक्टर केसीका अर्का समर्थक डा. अभिषेकप्रताप सिंहले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आफूहरुलाई दुःख लागेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले हामीलाई दुःख लागेको छ । अब राज्यमाथि शंकाको प्रश्न उठेको छ ।’

सरकारले अहिले ईगो देखाइरहेको पनि उनले गुनासो पोखे । सिंहले भने, ‘डाक्टर केसी तीन करोड नेपालीको हित र पक्षमा सत्याग्रहमा हुनुहुन्छ । तर, सरकारले आफै गरेको सम्झौता पालना गरेन । समस्या राज्यबाट नै सिर्जना भएको छ । अब समाधान पनि उहाँहरुबाटै हुनुपर्छ ।’

Advertisement

Advertisement

Advertisement