पोलिमर नोट अनियमितता प्रकरणः प्रधानन्यायाधीसका सम्धीसमेत रहेका रावल धरौटीमा रिहा

Advertisement

काठमाडौं । पोलिमर नोट छपाईमा अनियमितता गरेको आरोप लागेका नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तिलक रावल धरौटीमा रिहा भएका छन् । बहालवाला प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाका आफ्नै सम्धी रावल १० लाख धरौटी राखेर रिहा भएका हुन् ।

राणालाई प्रधानन्यायाधीसमा नियुक्ति गर्ने क्रममा संवैधानिक समितिमा सुनुवाई हुन लागेको बेला १६ बर्ष पूरानो विषयमा रावललाई एकाएक रहस्यमय ढंगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।

अख्तियारले उनीविरुद्द मुद्दा दायर गरेपछि विशेष अदालतले उनलाई १० लाख रुपियाँ धरौटी लिएर छोड्न आदेश दिएपछि रावलले धरौटी बुझाएका हुन् । अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय रत्नबहादुर वागचन्द तथा प्रमोदकुमार वैद्य श्रेष्ठको इजलाशले रावललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आयोगले पोलिमर नोट प्रकरणमा जनही ९१ लाख रुपियाँ भ्रष्टाचार भएको दावी गरी रावलसहित तीन जना विरुद्ध पुस ५ गते बिशेष अदालतमा मुद्दा दायर गरेको थियो । रावलसहित तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र मे फ्लावर कम्पनी लिमिटेडका स्थानीय प्रतिनिधि हिमालय बहादुर पाँडेले १० रुपियाँको पाँच करोड थान नोट छाप्दा भ्रटाचार गरेको अख्तियारको भनाई छ ।

रावल सोमबार अदालतमा उपस्थित भएपनि अन्य दुई आरोपी भने उपस्थित भएनन् ।

Advertisement

Advertisement

Advertisement