पन्ध्र लाख बढीको च्याउ बिक्रि

Advertisement

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका च्याउ खेतीमा संलग्न किसानले रु १५ लाखभन्दा बढीको कन्ये जातको च्याउ बिक्री गरेका छन् ।

नगरपालिकाको कृषि विकास शाखाबाट अनुदानमा बीउ र प्रविधिमा सहयोग पाएपछि एकसय किसानले च्याउ खेती गरेका हुन् । सय वटा नमूना च्याउ घर बनाई किसानले च्याउ उत्पादन गर्दै आएको शाखाका प्रमुख रणबहादुर मल्लले बताए।

च्याउ घरबाट किसानले ३० मेट्रिकटन च्याउ उत्पादन गरेका छन् उनले भने, “उत्पादित च्याउ सहजै स्थानीय बेलौरी बजारमा खपत हुने गरेको छ ।” बजारमा च्याउ रु २५० देखि रु ३०० प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । “बजारमा च्याउको माग बढ्दो छ । किसानले मागअनुरुप च्याउ उत्पादन गर्न सकेका छैनन् । बजार भए पनि मागअनुसारको च्याउ उत्पादनका लागि किसानलार्ई अझै प्रविधिमा सहयोग गर्ने योजना बनाइरहेका छौँ”, कृषि प्राविधिक हरिश सेटीले भने ।

“उत्पादित च्याउ पछिसम्म बजारमा उचित मूल्यमा बिक्री गर्न र ‘सोलार ड्रायर’ प्रयोग गरी चिप्स बनाउने उद्योग स्थापना गर्न नगरपालिकासँंग उक्त शाखाले प्रस्ताव गरेको र यसबाट किसानको च्याउले मूल्य बढी पाउनाका साथै स्थानीय युवालाई रोजगारी पनि दिन सकिन्छ” शाखा प्रमुख मल्लले भने । गत वर्ष १० किसानले मात्रै कृषि शाखाबाट रु दुई लाख अनुदान लिएर नमूना घर निर्माण गरी च्याउ उत्पादन गरेका थिए । ती नमूना घरबाट किसानले चार मेट्रिक टन च्याउ उत्पादन भएको थियो ।

च्याउ घरमा च्याउको व्यावसायिक उत्पादनमा लाग्नुभएकी मीना चौधरीले च्याउको बीउ राखेको एक महीनाको अवधिमै च्याउ बिक्रीबाट रु एक लाखभन्दा बढी आम्दानी भएको बताए । च्याउखेतीबाट आम्दानी बढ्दै गएकाले यसलाई थप प्रवर्धन गर्न कृषि प्राविधिकसँग सल्लाह लिन थालेको अर्का कृषक जयराम चौधरीले बताए ।

“अन्य कृषिजन्य उत्पादनको तुलनामा च्याउखेतीबाट मनग्य आम्दानी हुनाका साथै उपभोक्ताले बढी रुचाएकाले यसलाई व्यावसायिकरुपमा अगाडि बढाउने सोच अघि सारेका छौँ” उनले भने । छोटो अवधिमै बढी प्रतिफल दिने भएकाले च्याउखेतीतर्फ किसानको आकर्षण बढेको पाइएको हो ।

वसन्ते लहरे तरकारीको बीउ वितरण

कञ्चनपुरको बेलौरी नगरपालिकाको कृषि विकास शाखाले किसानलाई व्यावसायिक खेतीतर्फ डो¥याउन ५० प्रतिशत अनुदानमा वसन्ते वर्णशङ्कर(हाइब्रिड) जातको लहरे तरकारीको बीउ वितरण गरेको छ ।

नगरपालिकाको १० वटै वडाका २०५ किसानलाई करेला, लौका, तनेबोडी, तरभुजा, फर्सीलगायत बीउ वितरण गरिएको हो । बीउका लागि नगरपालिकाले रु एक लाख ९५ हजार र किसानले सोहीअनुसारको रकम खर्चेका छन् ।

वितरण गरिएका बीउ बगरमा १० हेक्टर र अन्य ३० हेक्टर गरी जम्मा ४० हेक्टर जमीनमा रोपिएको कृषि विकास शाखाका नायब प्राविधि सहायक हरिश सेटीले बताउनुभयो । यसैगरी किसानलाई शाखाले वसन्ते तरकारी मिनीकिटसमेत वितरण गरेको छ । दुईसय अठार कृषक समूहका दुई हजार किसानलाई निःशुल्क मिनी किट वितरण गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement