एप्पलको आम्दानीमा ४.५ प्रतिशतको गिरावट

Advertisement




काठमाडौं। एप्पलले सन् २०१८ को अन्तिम त्रैमासमा एक हजार ९९७ करोड डलर नाफा आर्जन गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ । यो सन् २०१७ को अन्तिम त्रैमासको तुलनामा १ प्रतिशतले कमी हो । यस अवधिमा एप्पलको आम्दानीमा ४.५ प्रतिशतको गिरावट देखिएको छ ।






२०१८ को डिसेम्बरसम्ममा एप्पलको आम्दानी ४.५ प्रतिशतले घटेर ८ हजार ४३१ करोड डलर भएको छ । चीनमा एप्पलको विक्री कम भएका कारण आम्दानीमा गिरावट देखिएको हो ।

त्यस्तै २०१७ को डिसेम्बरको तुलनामा २०१८ को डिसेम्बरसम्ममा एप्पलको आइफोन विक्री १५ प्रतिशतले घटेको छ । एप्पलको ६० प्रतिशत आम्दानी आइफोनको विक्रीबाट नै आउने गर्दछ ।

१७ बर्षमा पहिलोपटक डिसेम्बर त्रैमासमा एप्पलको मुनाफा र आम्दानीमा गिरावट देखिएको हो । योभन्दा पहिले सन् २००१ मा यस्तो भएको थियो । त्यो समय छुट्टीवाला त्रैमास हुने भएकाले पनि एप्पलको लागि डिसेम्बर त्रैमास महत्वपूर्ण हुने गर्दछ, जसमा कम्पनीहरुमा आफ्ना उत्पादन बढ्ने आशा रहेको हुन्छ ।

कम्पनीका सीईओ टिम कुकुले डिसेम्बरमा लगानीकर्ताहरुलाई पत्र लेखेर चीनमा विक्री घटेका कारण अन्तिम त्रैमसामा कुल आम्दानी पछिल्लो अनुमानभन्दा ५.५ प्रतिशतले कम हुने बताएका थिए ।

२०१८ को अन्तिम त्रैमासमा चीनमा एप्पलको कमाई एक हजार ३१७ करोड डलर रहेको छ । यो २०१७ को यसै अवधिको तुलनामा २७ प्रतिशतले कमी हो । गत २०१७ को डिसेम्बर त्रैमासमा चीनमा एप्पलको आम्दानी एक हजार ७९६ करोड डलर रहेको थियो ।


Advertisement

Advertisement

Advertisement