कृषि जोखिम कम गर्न लघु बीमा कम्पनी खोल्दैछौं: अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले किसान र कृषि पेसालाई सम्मान गर्दै उत्पादन गर्नेलाई सरकारले उपयुक्त नीति बनार्इ संरक्षण गर्ने बताएका छन् । नेपाल कृषि केन्द्रीय संघको एघारौं वार्षिकोत्सवमा खतिवडाले भने ‘यो पेसालाई मर्यादित बनाउन र बजारको जोखिम व्यवस्थापन गर्न जरुरी छ । यसका लागि सरकार, सहकारी र निजी क्षेत्रले सहकार्य गरेर काम गर्नुपर्छ भन्ने पक्षमा सरकार छ । ’

उनले उत्पादन, भण्डारण, उपभोक्ता र कृषि उपजहरुलाई बारम्बार जोखिम हुने, बाली नष्ट हुने जस्ता जोखिमहरुलाई हटाउन सरकारले कृषि लघु बीमा कम्पनी खोल्ने योजना बनाएको पनि बताए । कृषिजन्य वस्तुको आयात निरुत्साहित गर्न कर बढाउनुपर्ने मागमा खतिवडाले कृषिजन्य वस्तुमा पाँच प्रतिशत भन्दा बढी भन्सार लगाउन नपाइने प्रष्ट पारे ।

कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले हालसम्म कृषि सहकारीमा १० लाख सदस्य रहेको र यस्ता सहकारीले ४५ अर्बभन्दा बढि पुँजी परिचालन गर्ने गरेको भन्दै सबै गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था स्थापना गर्ने आफूहरुको योजना रहेको बताए । उनले राष्ट्र बैंकले चलाउने ग्रामीण विकास कोषको पैसा राउटे र विकट ठाउँका बासिन्दालाई दिने निर्णय भएको बताए ।

काँग्रेस नेता बालकृष्ण खाँणले कृषि क्षेत्रमा लगानी बढाउन सरकारसँग माग गरे । उनले भने, ‘भारतमा अत्याधिक विषादी प्रयोग गरिएका कृषि उपजहरु नेपाल भित्रिएका छन् । यसको प्रतिकुल असर नेपालीहरुमा परिरहेको छ । ती चिजलाई हटाउन सरकारले कृषि क्षेत्रलाई सहयोग गर्न आवश्यक छ ।

खाँडले यस्ता विषादीजन्य खाद्य पदार्थले गर्दा पर्यटन व्यवसायमा पनि नकारात्मक प्रभाव पर्ने भन्दै नेपालमा उत्पादित खाद्य पदार्थ पर्यटकको रोजाइमा पार्न सक्यो भने पर्यटन व्यवसायले किसान र कृषकलाई पनि सहयोग पुग्ने बताए ।

Advertisement

Advertisement

Advertisement