तीन करोड रुपियाँको लागतमा कृत्रिम ताल निर्माण हुने

Advertisement

दमौली । तनहुँ घिरिङमा तीन करोड रुपियाँको लागतमा कृत्रिम तालको निर्माण हुने भएको छ ।

पचास रोपनी क्षेत्रफलमा निर्माण हुने सो तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ । घुमाउने ताल नामकरण गरिएको सो तालका बीचमा मन्दिर बनाउने योजनासमेत बनाइएको छ ।

सो ताल निर्माणका लागि घिरिङ गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका एक्लैको बजेटले ताल निर्माण पूरा नहुने भएकाले प्रदेश र सङ्घीय सरकारसँग आर्थिक सहयोग गर्न अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए । उनले कृत्रिम ताल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन डिपिआर समेत तयार भइसकेको जानकारी दिए।

“घिरिङलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसहित कृत्रिम तालको अवधारणा ल्याइएको छ”, अध्यक्ष रानाले भने, “ताल निर्माण शुरु भएको तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।”

अध्यक्ष रानाले भने, “डुङ्गा चढेर तालको बीचमा रहने मन्दिरमा सर्वसाधारणले दर्शन गर्न सक्नेछन् । उक्त ताललाई पोखराको फेवाताल जस्तै गरी विकास गरिनेछ ।” ताल वरपरका क्षेत्रमा रेस्टुराँ, पिकनिक स्थलसमेत सञ्चालन गर्ने योजना बनाइएको उनको भनाई छ ।

पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले वडा नं ३ मा गोफाखोला थुनेर बनाउन लागेको कृत्रिम तालको आज गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले स्थलगत अवलोकन गरे ।

सो अवसरमा मन्त्री लम्सालले गण्डकी प्रदेश पर्यटनमा उत्कृष्ट प्रदेश रहेको भन्दै स्थानीय तहले पर्यटन प्रवद्र्धनका लागि चाल्ने हरेक गतिविधिमा प्रदेश सरकारको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।

उनले भने, “पर्यटनबाटै प्रदेशलाई समृद्ध बनाउने सरकारको योजना छ, हरेक स्थानीय तहले यो लक्ष्यलाई पूरा गराउन सहयोग गर्नुपर्छ ।”

Advertisement

Advertisement

Advertisement