विवादका बीच नेपाल टेलिकमको फोरजी सेवा विस्तार सम्झौता

Advertisement

काठमाडौं । नेपाल टेलिकमको फोरजी÷एलटीई सेवा विस्तारका लागि आइतबार सम्झौता भएको छ । परियोजनामा ठूलो आर्थिक अनियमितता भएको भन्दै विवाद भइरहेको बेला टेलिकमले यो सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्यान)को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता गरेको हो ।

संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको कम्पनीको तर्क छ ।

यस सम्बन्धी छुट्टाछुट्टै सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरे ।

नेपालभर ६५ लाख क्षमताको फोरजीरएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा र्यान नेटवर्क तयार गरिने छ । यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ ।

र्यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । सम्झौता पश्चात एक वर्ष भित्रमा परियोजना सम्पन्न हुने छ । नेपाल टेलिकमले मुलुक मै पहिलो पटक मिति २०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी सेवा सञ्चालन गरेको थियो ।

देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलेको रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुने जनाइएको छ ।

यसबाट मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस (भ्वाइस ओभर एलटीइ) र मल्टिमिडिया (भिडियो ओभर एलटीइ) सेवा विस्तार तथा कभरेज एण्ड क्यापासिटीका लागि स्मल सेल विथ वाइफाई विस्तार गर्न सकिने टेलिकम कम्पनिले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement