अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई महत्वपूर्ण सफलता, पहिलो पटक टी२० श्रृखला नेपाललाई (अपडेट)

Advertisement

काठमाडौं । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण सफलता हात पार्दै पहिलो पटक टी२० श्रृखलाको उपाधि जित्न सफल भएको छ । श्रृखलाको अन्तिम खेलमा आइतबार यूएईलाई उसकै गृहमैदानमा हराउँदै उपाधि जित्न नेपाल सफल भएको हो ।

यूएईविरुद्ध एक दिवसीय क्रिकेट श्रृंखला जितेको नेपालले टी२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधिसमेत जित्न सफल भएको हो । आजको अन्तिम तथा तेस्रो खेलमा नेपालले युएईलाई १४ रनले हराउन सफल भयो । बर्षाका कारण १० ओभरमा सीमित भएको खेलमा नेपालले १०५ रनको कडा चुनौति प्रस्तुत गरेको थियो ।

नेपालका जितमा करण केसी एक्लैले एउटै ओभरमा दुई विकेट लिए भने ब्याटिङमा कप्तान पारस खड्का र सन्दीप जोराले महत्वपूर्ण योगदान दिए। टस जितेर फिल्ड रोजेको यूएईलाई अन्तिम खेलमा नेपालले आठ विकेटको क्षतिमा १०५ रनको चुनौती दिएको थियो।

यूएईले राम्रो सुरुवात गरे पनि नेपालका लागि सोमपाल कामी, अविनाश बोहोरा र सन्दीप लामिछानेले विकेट झारेपछि उसको जित कठिन भएको थियो । साथै पारस खड्काले १४ बलमा सर्वाधिक २९ रन तथा सन्दीप जोराले ११ बलमा २८ रन बनाएका थिए ।

नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । यता यूएई १०५ रनको लक्ष्य पछ्याउने क्रममा ९० रनमा सीमित भयो । नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा यूएईको सुरुवात राम्रो भए खेलाडीहरु लामो समय मैदानमा टिक्न सकेनन् ।

नेपालका लागि करण केसी, अविनाश बोहरा र ललित राजवंशीले समान दुई दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट लिए ।

श्रृखलाका कुल तीन खेलमध्ये अघिल्लो एक एक खेलमा नेपाल र यूएईले जित हासिल गर्दै एक एक अंक बनाएका थिए । आजको खेलबाट एक अंक थप्दै नेपालले उपाधि हात पार्न सफल भएको हो ।

सन् २०१४ को टी२० विश्वकपपछि दुई वर्षका लागि टी२० टोलीको मान्यता पाएको नेपालले दुई टीट्‍वेन्टी शृंखलासमेत भाग लिईसकेको छ । तर दुवैमा जित हात पार्न नसकेको नेपाललाई पहिलो पटक अहिले मौका मिलेको हो ।

Advertisement

Advertisement

Advertisement