चीनसँग ब्यापारिक नाका खुल्ला भए नेपालमा पूर्वाधार निर्माणमा सहज हुने : अर्थमन्त्री डा. खतिवडा

Advertisement

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले चीनसँग सीमा जोडिएका ब्यापारिक नाका संचालनमा आएमा नेपालको पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा चीनियाँ राजदूत हौ यान्की संगको भेटमा अर्थमन्त्री डा.खतिवडाले आर्थिक विकास र समृद्धिमा अघि बढेकोले उत्तरी सिमा नाकाहरु संचालनमा आए पूर्वाधार निर्माणमा सहज हुने बताएका हुन् ।

अर्थमन्त्री डा.खतिवडाले भारत र चीन जोड्ने नेपालको छोटो मार्ग मुस्ताङको कोरला नाकामा चिन तर्फका व्यापारिक संरचनाहरु निर्माण भइसकेको भएपनि नेपाल तर्फ बाँकी नै रहेको स्मरण गराए । उनले यो नाका जतिछिटो सञ्चालनमा आयो, त्यतिकै त्रिदेशीय व्यापारमा सहज हुने बताए ।

मन्त्री खतिवडाले दुई देशबीचमा हुने अनौपचारिक व्यापारलाई औपचारिक रुपमा रुपान्तरण गर्न जोड दिए । उनले भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न लामो समय देखि थाती रहेको चिनियाँ बैंकका शाखा नेपालमा विस्तार गर्न आवश्यक भएको बताए ।

भेटमा चिनियाँ राजदूत हौ यान्कीले वर्तमान सरकार बहुमत सहितको स्थिर सरकार भएकाले दुबै देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै पारस्परिक हित अभिबृद्धिबाट आगामी दुई तीन बर्षको अवधिमा नेपालमा विकासले गति लिने विश्वास व्यक्त गरिन । राजदूत यान्कीले नेपाल सरकारको आर्थिक विकास र समृद्धिको लक्ष्य प्राप्तिलाई सघाउने प्रतिवद्धता समेत व्यक्त गरिन । उनले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन ।

नेपालमा भौतिक संरचना निर्माण, पर्यटन, कृषि, उर्जा, भूकम्प पछिको पुर्ननिर्माण लगायतका परियोजनाहरुमा चीन सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता समेत उनले व्यक्त गरिन् । आयोजनाहरु सम्पन्न गर्नको लागि आवश्यक समय चाहिने भन्दै राजदूत यान्कीले नेपाल सरकारका विभिन्न मन्त्रालयका जिम्मेवार निकायहरुबाट समन्वय र सहयोगको वातावरण निर्माण गर्न आग्रह गरिन् ।

Advertisement

Advertisement

Advertisement