साउदी राजदूत भन्छन्– चाँडै नेपालसँग श्रम सम्झौता हुँदैछ

Advertisement

काठमाडौं । साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानले नेपालसँग चाँडै श्रम सम्झौता हुने बताएका छन् । सोमबार अर्थमन्त्री युवराज खतिवडासँगको भेटमा उनले सो कुरा बताएका हुन् ।

राजदूत मारवानले नेपालबाट श्रमिक आपूर्तिसम्वन्धमा नयाँ सम्झौताका लागि काम भइरहेको भन्दै यो चाँडै निष्कर्षमा पुग्ने बताए । उनले साउदी अरेबिया फण्डमार्फत नेपालमा भूकम्पपछिको पुनःनिर्माण, शिक्षा, स्वास्थ्य र निजी आवास निर्माणमा सहयोग गर्न विभिन्न चरणका छलफल र वार्ता अघि बढेको जानकारी दिए ।

नेपाल–साउदी अरेबियाको कुटनीतिक सम्बन्ध चार दशक अघिदेखि नै रहेको भन्दै मारवानले साउदी अरेबियाको विकास निर्माणका काममा नेपाली कामदारहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

अर्थमन्त्री खतिवडाले साउदी अरेवियासँग भएको स्रोत नेपालमा लगानीको लागि राम्रो अवसर भएकाले समयमै पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले करिव ४ लाख नेपाली कामदार साउदी अरेबियामा कार्यरत भएको भन्दै साउदी अरेविया नेपालीका लागि दोस्रो घर भएको बताए ।

साउदी सरकारले नेपालीलाई रोजगारी दिएर केही हदसम्म नेपालको गरिबी न्यूनिकरण, शिक्षा, स्वास्थ्य र जनजीवनको सुधारमा महत्वपूर्ण भूमिका खेल्नुका साथै नेपालको अर्थतन्त्रमा समेत सहयोग पुगेको खतिवडाले भनाई राखे ।

उन आउँदो चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनमा साउदी अरेबियाका लगानीकर्ताहरुलाई बढि भन्दा बढि सहभागी गराउन दूतावासमार्फत सन्देश प्रवाह गर्न आग्रह गरे । नेपालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउन लागेको जानकारी दिँदै खतिवडाले सञ्चालनमा आएपछि साउदी नागरिकलाई पर्यटकको रुपमा नेपाल भित्राउने र नेपाली कामदारलाई सिधै आवतजात गर्न सहज हुने बताए ।

Advertisement

Advertisement

Advertisement