परिसंघले नयाँ राजदूतहरु बोलाएर भन्यो– कानुन फेरिएको छ तपाईंहरु पनि अब फेरिन पर्यो

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघले विभिन्न देशका लागि नियुक्त भएका राजदूतहरुलाई बोलाएर सोमबार आर्थिक तथा व्यवसायिक विकासका बारेमा छलफल गरेको छ । परिसंघले राखेको कार्यक्रममा भारत, इजरायल, मलेसिया, यूएई, फ्रान्स, कुवेत, क्यानडा र थाइल्याण्ड तथा संयुक्त राष्ट्र संघका राजदूत सहभागी थिए ।

कार्यक्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकमा राजनीतिक स्थिरता आएसँगै वर्तमान सरकारले आर्थिक समृद्धि र लगानी विस्तारमा विशेष जोड दिदै लगानीमैत्री कानुनहरुको तर्जुमा गरेको वर्तमान स्थितिमा नवनियुक्त राजदूतहरुको भूमिका समेत फेरिएको आफूले महशुस गरेको बताए ।

उनले सम्बन्धित देश र नेपालको निजी क्षेत्र बीचको सहकार्य र सम्बन्ध विस्तारमा राजदूतहरुले आफ्नो मूख्य लक्ष्य र योजनासहित परिसंघ जस्ता संस्थाहरुको सहयोग र सहकार्यमा जुट्न सकेको खण्डमा नेपालमा लगानी वृद्धिमा सहयोग पुग्ने बताए ।

परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले आर्थिक कुटनीतिकको वर्तमान सन्दर्भमा राजदूतहरुको भूमिका राजनीतिक कुटनीति मात्र नभइ बजार प्रतिनिधिको समेत हुनुपर्ने बताए । उनले अबको कुटनीति निजी क्षेत्रसँगको सहकार्य, समझदारी र संलग्नताको अभावमा सफल नहुने भएकोले नवनियुक्त राजदूतहरुले यस विषयमा विशेष प्राथमिकता दिनुपर्ने बताए ।

भारतका लागि नवनियुक्त राजदूत निलम्बर आचार्यले अबको दूतावासहरुले व्यवसायमैत्री सम्पर्क र युवा उद्यमीहरुलाई प्रोत्साहन दिने कार्यक्रम ल्याई अघि बढ्नुपर्ने बताए । नवनियुक्त राजदूतहरु अञ्जन शाक्य (इजरायल), उदयराज पाण्डे (मलेसिया), कृष्णप्रसाद ढकाल (यूएई), दिपक अधिकारी (फ्रान्स), दूर्गाप्रसाद भण्डारी (कुवेत), भृगु ढुङ्गाना (क्यानडा), गणेशप्रसाद ढकाल (थाइल्याण्ड), मणीप्रसाद भट्टराई (यूएन, जेनेभा) र अमृतबहादुर राई ( यूएन, न्यूयोर्क)ले नेपालमा लगानी भित्र्याउने एवं नेपालको लगानीमैत्री वातावरणबारे पैरवी गर्ने बताएका थिए ।

Advertisement

Advertisement

Advertisement