आफूहरुलाई पुनः आन्तरिक परीक्षामा सहभागी गराउन अस्थायी तथा करार शिक्षकहरुको माग

Advertisement

काठमाडौं । अस्थायी/करार शिक्षक केन्द्रिय संघर्ष समितिले एक व्यक्ति एक पदको अवधारणाअनुसार उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधि कारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकहरुलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको छ ।

शनिबार पत्रकार सम्मेलन गरेर संघर्ष समितिले यस्तो माग गरेको हो । समितिले सेवाबाट अवकास लिन चाहाने शिक्षकहरुलाई औषधोपचारको एकमुष्ट रकमसहित स–सम्मान विदा गर्न पनि माग गर्यो ।

समितिका संयोजक हेमनाथ चौलागाँईले सबै अस्थायी शिक्षकहरुलाई विस्थापित गर्न नपाईने बताए । उनले भने, ‘यदि सरकारले अस्थायी शिक्षकहरुलाई विस्थापित गर्यो भने हामी सशक्त आन्दोलनमा उत्रिन्छौं ।’

चौलागाँईले सबै अस्थायी शिक्षकहरुलाई आन्तरिक परीक्षामा समेत सहभागी गराउनुपर्ने बताए । उनले भने, ‘अघिल्लो पटक आन्तरिक परीक्षामा सहभागी हुनबाट बञ्चित गराईएकाहरुलाई पनि पुनः आन्तरिक परीक्षामा सहभागी गराउनुपर्छ ।’

कार्यक्रममा समितिका बरिष्ठ उपाध्यक्ष गोपालबहादुर बस्नेतले सरकारले आफूहरुले उठाएका जायज माग पूरा नगरे यसअघि सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रमहरुलाई जारी राख्ने चेतावनी दिए । उनका अनुसार समितिले यही माघ २९ गते देशैभरिका सामूदायिक विद्यालय बन्द गर्ने कार्यक्रम रहेको छ ।

बस्नेतले थपे, ‘आन्दोलनलाई सशक्त बनाउनको लागि हामीले ७७ वटै जिल्लाबाट साथीहरुलाई काठमाडौं बोलाएका छौं । माघ २९ गते विहान १० बजे काठमाडौंको भ्रदकालीमा भेला भएर नयाँ बानेश्वरसम्म जुलुश तथा ¥याली निकाल्ने कार्यक्रम छ ।’

समितिका सह–संयोजक प्रविण न्यौपानेले सरकारले १७ वर्षसम्म पनि शिक्षक सेवा आयोग नखोलेर आफूहरुलाई अन्याय गरेको आरोप लगाए । न्यौपानले सरकारले विज्ञापन गर्दा विभेद गरेको पनि आरोप लगाए ।

उनले आफूहरुको उर्जाशील समय शिक्षण पेशामा खर्च भएको र अहिले आएर आफूहरुलाई विस्थापित गर्न खोजिएकोमा पनि कडा आपत्ति जनाए । समितिका केन्द्रिय सदस्य शिव अधिकारीले आफूहरु अनशनमै बसेको बेला र अदालतमा मुद्दा चलिरहेकै अवस्थामा सरकारले बलपूर्वक आन्तरिक परीक्षा लिएको भन्दै कडा असन्तुष्टी पोखे ।

अधिकारीले भने, ‘स्नातकोत्तरमा फष्ट डिभिजन ल्याएको र सबै विद्यार्थीलाई ए प्लस श्रेणीमा पास गराउन सफल हामी शिक्षकहरु राज्यको नजरमा कसरी अयोग्य र असक्षम भयौं ? म प्रश्न गर्न चाहन्छु ।’

उनले सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुसँगको भेटवार्तामा रोजगारी तथा अधिकारीबाट बञ्चित भए आफूकहाँ आउन आग्रह गरेको पनि स्मरण गराए ।

समितिले अस्थायी शिक्षकहरुलाई स्थायी गर्नको लागि विभिन्न चरणको सम्झौता भएपनि साधारण प्रक्रियाबाट परीक्षा लिई स्थायी गर्ने बहानामा एकैचोटीमा सबै शिक्षक असक्षम बनाई योग्यता, क्षमता तथा सामाजिक परिवेशमा अस्थायी शिक्षक परिवारजन समेतलाई आंतकित तुल्याउने काम भएको भन्दै आक्रोश पोखेको छ ।

समितिले यही माघ २९ गते काठमाडौंमा बृहत्त शक्ति प्रर्दशन, फागुण १ गते शिक्षक महासंघको कार्यालय घेराउ गर्ने र फागुण २ गते धुम्बराहीस्थित् नेकपाको कार्यालयमा धर्ना दिने कार्यक्रम पनि राखेको जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement