काठमाडौंको ‘लोड’ व्यवस्थानमा सहयोग गर्ने माथिल्लो त्रिशुली ३बी को शिलान्यास

Advertisement

काठमाडौं। नुवाकोटस्थित ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको आइतबार शिलान्यास भएको छ । उर्जामन्त्री बर्षमान पुनले आयोजनाको शिलान्यास गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)को मुख्य लगानी रहेको यस आयोजनाको नुवाकोटस्थित किस्पाङ गाउँपालिका–५ मा आयोजित कार्यक्रममा मन्त्री पुनले शिलान्यास गरेका हुन् । कार्यक्रममा उनले केन्द्रीय राजधानीबाट नजिकै भएकाले विद्युतको लोड व्यवस्थापनका लागि आयोजना महत्वपूर्ण रहेको भन्दै तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो त्रिशूली ३बी निर्धारित समयभन्दा अगाडि नै निर्माण गर्न सकिएमा मुलुकभर भरपर्दो र नियमित विद्युत् आपूर्तिमा ठूलो योगदान पुग्ने बताए ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २९ माघ २०७४ मा तीन करोड १८ लाख ४७ हजार अमेरिकी डलर र एक अर्ब ९१ करोड ४६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार, ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्ने छ ।

घिसिङले ठेकेदार कम्पनीले हाल निर्माण कार्यका लागि आवश्यक सम्पूर्ण निर्माण उपकरण तथा सामाग्रीको परिचालन गरी मुख्य सुरुङ (३८००मिटर), विद्युत गृह, सर्ज ट्यांक लगायतका संरचनाको काम सुरु गर्ने अवस्थामा रहेको जानकारी दिए । तीन वर्ष निर्माण अवधि रहेको आयोजनाको काम २९ फागुन २०७७ भित्र सक्ने लक्ष्य तय गरी काम भइरहेको उनले बताए ।

नुवाकोट र रसुवामा निर्माण हुने आयोजना प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि एको क्यास्केड आयोजना हो । क्यास्केड भएकाले माथिल्लो त्रिशूली थ्रि बीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुपर्ने छैन ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०–३० प्रतिशत सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत सेयर रहने छ ।

अनुमानित निर्माण लागत सात अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपियाँ रहेको आयोजनामा ३० प्रतिशत इक्विटी (दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (पाँच अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । आयोजनामा नबिल बैकको अगुवाईमा गठन भएको सह–वित्तीयकरणमार्फत ऋण लगानी हुने छ । प्रवद्र्धक कम्पनी र बैकहरुबीच ४ भदौ २०७५मा ऋण सम्झौता भइसकेको छ ।

आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५ सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत खरिद–बिक्रीका लागि प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको छ ।

विद्युत् बिक्रीबाट वार्षिक करिब एक अर्ब ८९ करोड रुपियाँ आम्दानी हुने कम्पनीका प्रबन्ध–सञ्चालक मोहन गौतमले बताए । आयोजनाको विद्युत आयोजनाको विद्युत गृहबाट करिव तीन किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्रिबी हब सबस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुने छ ।

Advertisement

Advertisement

Advertisement