‘ओली र प्रचण्डबीच कुरा मिलिसक्यो, प्रचण्डलाई अमेरिकाबाट निम्तो पनि आइसक्यो’

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा पौडेलले यो विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ती जारी गरेर भयानक गल्ती नगरेको जिकिर गरे । उनले भने, ‘नेपालस्थित अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ । राजदूतसँगको भेटमा हाम्रो अध्यक्षले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसकेका छन् । अब यो समस्या हल भयो ।’

नेता पौडेलले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आगामी दिनमा मिलेर जानेबारे गम्भीर कुराकानी भएको पनि पौडेलले बताए । उनले भने, ‘सरकार सञ्चालन गर्दा मिलेर अघि बढ्ने र निर्णय गर्दा सल्लाह गर्नेबारे उनीहरुबीच सहमति भएको छ । पार्टी एकीकरणको कामलाई दुवै अध्यक्षले पहलकदमी लिने र फत्ते बनाउने पनि गम्भीर कुरा भएको छ । पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे पनि उहाँहरुबीच कुरा भएको मैले पाएको छु ।’

पौडेलले नेपालले शान्ति प्रक्रिया मौलिक ढंगले टुँगो लगाउने काम गरिरहेको सुनाए । तर, केही अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु र केही ‘संघ÷संस्थाहरुले यो विषयलाई उचाल्ने काम गरेको उनको आरोप छ । पौडेलले भने, ‘संघ÷संस्थाहरु भनेर मैले कांग्रेसलाई भन्न खोजेको होईन । कांग्रेस त शान्ति प्रक्रिया टुँगो लगाउन दृढ छ । हामी सबै मिलेर कोशिस गरिरहेका छौं ।’

नेता पौडेलले वर्तमान सरकार गठन भएको एक वर्ष पुग्न लागेको सुनाउँदै यो एक वर्षको कार्यकाल हेर्दा सरकार सापेक्षित रुपमा सफल भएको दाबी गरे । उनले भने, ‘सरकारको एक वर्ष सापेक्षित रुपमा सफल छ । तर, उत्साहजनक छैन् ।’

Advertisement

Advertisement

Advertisement