जनतालाई एक खर्ब दुई अर्बको सेयर दिने गरी जनताको जलविद्युत कार्यक्रम सुरु

Advertisement

काठमाडौं । देशका सबै जनतालाई जलविद्युतमा लगानी गर्ने अवसर प्रदान गर्ने उद्देश्यले सुरुवात गरेको जनताको जलविद्युत आयोजना कार्यक्रको आज (बिहिवार) उद्घाटन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ अभियानको उद्घाटन गरे । यस अभियान अन्तर्गत सरकारले १९ वटा जलविधुत आयोजना निर्माण गर्ने छ । यी आयोजनाले सर्वसाधारणका लागि एक खर्ब दुई अर्ब २८ करोडको सेयर दिने छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनताको जलविधुत आयोजना कार्यक्रम अन्तर्गत तीन हजार चार सय ७९ मेगावाट बराबरका १९ जलविधुत आयोजनामा नेपालीलाई सो बराबरको सेयर दिन लागेको हो ।

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले समृद्घ नेपाल सुखी नेपाली भन्ने नाराका साथ प्रधानमन्त्रीले ल्याएको यो भिजनलाई सार्थक बनाउँदै यो कार्यक्रम अघि बढाएको बताए । उनले पानीको सही ढङ्गले प्रयोग गर्ने र २०७५ देखि २०८५ सम्म दश वर्षे अभियानअन्तर्गत ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ सुरु गरेको बताए । यस अभियानमा सरकारको दृष्टिकोण अन्तरनिहीत रहेको बताउँदै मन्त्री पुनले यो सिद्घान्त सामाजिक न्यायका लागि हुने बताए ।

करिब तीन करोड नेपालीको सहभागितासहितका १९ वटा आयोजनामा करिब सात खर्ब लगानी हुने, त्यसमा ४९ प्रतिशत लगानी जनताको हुने मन्त्री पुनले बताए । उनले सरकार र जनताको बराबर लगानीमा यो आयोजना बन्ने र तीन चार वर्षमा तीन चारवटा आयोजना सम्पन्न हुने बताए ।

त्यसैगरी कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले देशमा उर्जाको भूमिका अपरिहार्य रहेको बताए । उर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रले वर्तमान तथा भावी दिनमा यो अभियान सुरु गरेसँगै ०७५।७६ मा तीन हजार मेगावट क्षमताका आयोजनाहरु कार्यान्वयनमा ल्याइने जनाए । १९ योजनाहरुको कुल लागतको ७० प्रतिशत ऋण, ३० प्रतिशत स्वपूँजी सेयर संरचना अन्तर्गत संस्थापक सेयरधनी ५१ प्रतिशत र सर्वसाधारणले ४९ प्रतिशत लगानी गर्न पाउने गरी सेयर जारी गर्ने सचिव घिमिरेले बताए ।

Advertisement

Advertisement

Advertisement