नागरिक लगानी कोषको मितव्ययीता अभियान शुरु

Advertisement

काठमाडौं । नागरिक लगानी कोषले कार्य संचालनमा मितव्ययीता अभियान शुरु गरेको जनाएको छ । सो सन्दर्भमा कोषको विद्यमान विभिन्न समिति तथा उपसमितिका संख्याहरु घटाउनुको साथै भत्ता रकम समेत कटौती गरेको कोषले जानकारी दिएको छ ।

यस भन्दा अघि संचालक समितिका सदस्य, संयोजक, सदस्य रहेका प्रत्येक समिति उपसमितिहरुमा सबै सदस्यलाई संचालक सरह भत्ता दिने गरेकोमा कोषका कर्मचारी सदस्यहरुको भत्ता प्रति व्यक्ति १ हजार रुपियाँ कटौती गरिएको छ । त्यसैगरी गैर कार्यकारी संचालक तथा कोष बाहिरबाट प्रतिनिधित्व गर्ने व्यक्ति सदस्य नरहेका समिति तथा उपसमितिहरुको बैठक भत्ता नरहने व्यवस्था गरेको कोषले जनाएको छ ।

यो सँगै कोषले खर्चमा मितव्ययीता ल्याउन कोष संचालक समितिका अध्यक्षले पाउने इन्धन सुबिधामा प्रति महिना दुई सय लिटरबाट कटौती गरी एक सय ७५ लिटर कायम गरेको छ । साथै, कोषले क्रमशः खर्चमा मितव्ययीता कायम गर्दै सुरक्षित, मुनाफामुखी तथा दीगो लगानीको व्यवस्थापन गरी सेवाग्राहीलाई थप प्रतिफल प्रदान गर्ने पहल समेत गरेको दाबी गरेको छ ।

कोषको कार्यलाई प्रभावकारी बनाउनको लागि कोषले सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने नीति लिएको कोषको सूचना अधिकारी उद्धव सिलवालले बताए । सेवाग्राहीको समस्या समाधानको लागि हेल्प डेस्क, सोधपुछ कक्ष, सूचना कक्ष तथा सुझाव पेटिकाको व्यवस्था गरी प्राप्त गुनासो, सुझाव तथा जानकारीहरुलाई तत्काल समाधान गर्ने पहल शुरु गरेको छ । आगामी दिनमा ग्राहकमैत्री सेवालाई अझ प्रभावकारी बनाउने नीति कोषले लिएको जानकारी दिईएको छ ।

Advertisement

Advertisement

Advertisement