मकवानपुरमा दुई अर्ब रुपियाँ राजश्व असुली

Advertisement

हेटौँडा । प्रदेश नं ३ अन्तर्गत रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको प्रथम छ महीनामा विभिन्न स्रोतको राजश्वतर्फ कूल दुई अर्ब २६ करोड ७४ लाख रुपियाँ र ५५ हजार रुपियाँ राजश्व असुली गरेको छ ।

सो कार्यालयले अन्तःशुल्कतर्फको राजश्वमा सबैभन्दा बढी एक अर्ब ३७ करोड ७३ लाख ९८ हजार रुपियाँ राजश्व असुली गरेको छ । यसैगरी आयकरतर्फ ४२ करोड चार लाख २५ हजार रुपियाँ, मूल्य अभिवृद्धि करतर्फ ३२ करोड ९८ लाख ९३ हजार रुपियाँ, ब्याज करतर्फ रु २५ लाख ५२ हजार चार सय रुपियाँ, घर बहालतर्फ १५ लाख ९३ हजार रुपियाँ असुली भएको छ ।

स्वास्थ्य करतर्फ १० लाख १३ हजार चार सय रुपियाँ र शिक्षा करतर्फ रु १८ लाख ९७ हजार राजश्व असुली गरिएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमध्ये गोर्खा लाहिरी चुरोट उद्योग प्रालिले सबैभन्दा बढी राजश्व ६१ करोड ९० लाख रुपियाँ र एशियन पेन्ट्स प्रालिले २६ करोड ९१ लाख राजश्व बुझाएको छ ।

यसैगरी अन्य उद्योगतर्फ नेपाल ब्रुअरी प्रालिबाट २२ करोड ९३ लाख रुपियाँ, युनिलिभर प्रालिबाट ११ करोड २० लाख रुपियाँ र शिवम् सिमेन्ट उद्योगबाट आठ करोड सात लाख रुपियाँ राजश्व प्राप्त भएको छ ।

हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा रहेका स्थानीय बजारमा पटक–पटक अनुगमन गरी वक्यौता रहेको रकममध्ये ८९ करोड ६० लाख रुपियाँ राजश्वमा थप असुली गरिएको आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख वसन्त ढकालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement