महतको आरोप– सुखी नेपाली होइन, निराश नेपाली बनाइयो, बेरोजगार होइन कार्यकर्ता भत्ता बाँडिदैछ

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै नेता महतले यो एक वर्षमा सरकारले जनतालाई पूरै निराश तुल्याएको आरोप लगाए । उनले भने, ‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो । तर, यो एक वर्षमा जनता पूरै निराश भए । देश समृद्ध भयो त ? भएन ।’

महतले मूल्यवृद्धि आकासिएको, व्यापार घाटा बढेको र लगानी घटेको दृष्टान्त पेश गरे । उनले भने, ‘अहिले ५० प्रतिशत लगानी घट्यो । कर बढिरहेको छ । बैंकको व्याजदर बढिरहेको छ ।’

त्यस्तै महतले संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाए । महतले ‘ईज अफ डुईङ बिजनेश’ पनि राम्रो नभएको टिप्पणी गरे । उनले भने, ‘सुशासनको त कुरै नगरौं । सुनकाण्ड त्यो अब पृष्ठभूमिमा गइसक्यो । चिनी काण्ड त्यस्तै । वाईडबडी काण्ड अब अख्तियारले हेर्ने भनिएको छ । हामी सुक्ष्म रुपमा हेरिरहेका छौं ।’

मेलम्ची खानेपानी आयोजना अनिश्चित् बनेको पनि महतको आरोप छ । उनले थपे, ‘उता बुढीगण्डकीको कथा पनि त्यस्तै छ । एनसेलको कर छलीमा अदालतले कर उठाउन भनेको छ, हामी हेरिरहेका छौं ।’

महतले सरकारले सुशासन कायम गर्न नसकेको गम्भीर आरोप लगाए । उनले भने, ‘समृद्धि त अहिले सत्तामा बस्नेहरुको लागि मात्रै आएको होला । तर, जनताले समृद्धिको कुनै अनुभुति गर्न पाएका छैनन् ।’

संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई कार्यान्वयन र संस्थागत गर्नतर्फ लाग्नुपर्ने महतको सुझाव छ । सरकारले संसदीय मर्यादालाई नै कुल्चिएको उनले आरोप लगाए । ‘सभामुख र उपसभामुख एउटै पार्टीको मान्छे हुनुहुन्छ । पार्टी एकता भएपछि पनि अहिलेसम्म त्यतातर्फ सोच्नुभएको छैन्’– महतले भने ।

सरकारले कर्मचारीतन्त्रलाई पूरै पार्टीकरण गरेको पनि महतले आरोप लगाए । उनले भने, ‘संवैधानिक निकायलाई सरकारले छायाँमा राखेको छ । दुई तिहाईको तरबार झुण्डाईएको छ ।’ महतले सरकारले लोकतान्त्रिक संस्थाको स्वतन्त्र रुपमा काम गर्ने ‘स्पेश’ लाई नै समाप्त पारेको आरोप लगाए ।

परराष्ट्र नीतिमा पनि वर्तमान सरकार पूरै असफल भएको महतको आरोप छ । उनले भने, ‘काठमाडौंमा विम्स्टेक शिखर सम्मेलन हुँदा भारतसँग संयुक्त सैन्य अभ्यास गर्ने र हामी भाग लिन्छौं भनेर सरकारले भन्यो, तर पछि भाग लिनबाट पछाडि हट्यो । हाम्रो परराष्ट्र नीतिको त्यस्तो हालत छ ।’

एसिया प्यासिफिक समिटमा पनि सरकार नै संरक्षक बनेको र प्रधानमन्त्री केपी ओली तीन दिनसम्म होटेलमै बसेको भन्दै महतले आलोचना गरे । भेनेजुयला प्रकरणमा सरकारले जारी गरेको विज्ञप्तीबारे टिप्पणी गर्दै उनले भने, ‘भेनेजुयलालाई यो सरकारले रोलमोडल बनाउन खोजेको हो ?, भेनेजुयलामा लाखौं गुणा मूल्यवृद्धि छ । लाखौं मान्छेहरु देश छोडेर भागेका छन् । अब त्यो देशलाई हाम्रो रोलमोडल बनाउन खोजेको हो ?’

महतले नेपाललाई लगातार सहयोग गर्ने अमेरिकाजस्तो देशलाई अनेकौं विशेषण हालेर गाली गर्ने काम भएको भन्दै आपत्ति जनाए । उनले भने, ‘देश चलाउने भनेको पार्टी चलाएकोजस्तो होईन् । देशको फाईदा हेर्ने हो । राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर अघि बढ्ने हो । अहिले हाम्रो परराष्ट्र नीति राष्ट्रिय हित अनुकुल छैन् ।’

महतले अहिले नेपालको परराष्ट्र र आर्थिक दुवै नीति पूरै असफल भएको दाबी गरे । उनले भने, ‘नेप्से हेर्नुहुन्छ भने लगानी घटेको छ । मुद्राको तरलता कम भएको छ । ब्याज बढेको छ । कुनै पनि मोर्चामा यो सरकार सफल भएको छैन् ।’ उनले सरकारको एक वर्षलाई आफूहरुले समीक्षा गर्दा ‘कुरामा नम्बर वान, काममा जिरो’ को रुपमा समीक्षा गरेको सुनाए ।

हरेक दृष्टिकोणमा यो सरकार उल्टो दिशामा हिँडेकोले आफूहरुले खबरदारी गर्नुपरेको पनि महतले जनाए । उनले भने, ‘सरकार उल्टो बाटोमा हिँडेकोले नै हामी खबरदारी गर्न बाध्य भएका हौं । अहिले निश्कर्षमा भन्नुपर्दा प्रधानमन्त्रीले जतिनै तोडमोडर गरेर एक वर्षको कामको फेहरिस्त प्रस्तुत गरेपनि यथार्थमा आम जनता निराश बनेका छन् ।’

प्रेस स्वतन्त्रलाई कुण्ठित गर्ने, सामाजिक सञ्जाललाई नियन्त्रण तथा निषेध गर्न खोजिएको भन्दै उनले सरकारको आलोचना गरे । फरक प्रसंगमा महतले हालै सरकारले सार्वजनिक गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत रोजगार नभएमा बेरोजगार भक्ता दिने भनेर गरिएको व्यवस्थाको भने कडा आलोचना गरे ।

उनले भने, ‘यो बेरोजगार भक्तालाई सरकारले कार्यकर्ता भत्ताको रुपमा रुपान्तरण गर्दैछ ।’ महतले सरकारले पैसा दिनुको साटो काम दिने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिए ।

Advertisement

Advertisement

Advertisement