एक बर्षमा ओली सरकारले ‘पासमार्क’ पनि ल्याएनः केसी, होइन ‘डिष्टिङसन’ नै ल्यायोः पोखरेल

Advertisement

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी ओली नेतृत्वको वर्तमान सरकारको एक वर्षे कार्यकाललाई आफूले ‘पासमार्क’ समेत नदिने बताएका छन् । रिपोर्टर्स क्लवमा शुक्रबार उनले भने, ‘मैले यो सरकारको एक वर्षे कार्यकाललाई पास मार्क दिन सकिन् ।’

केसीले यो एक वर्षको अवधिमा सरकारले धेरै ठूला–ठूला विकासका काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘दुई तिहाईको बलियो सरकार भएकोले जनताले यसले महँगी नियन्त्रण गर्ला र भ्रष्टाचार नियन्त्रण गर्ला भन्ने आशाा गरेका थिए । तर, यो सरकारले त्यो काम गर्न सकेन् ।’

केसीले सरकारले किसानको समस्या पनि समाधान गर्न नसकेको आरोप लगाए । उनले भने, ‘क्रान्तिकारी भूमि सिद्धान्त पनि आएन् । मजदुरहरुको समस्या त्यस्तै छ । यतातिर सरकारले खासै केही पनि गर्न सकेन् । न नीति राम्रो ल्यायो, न त व्यवहारमा नै केही लागु गर्यो ।’

शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण भएको पनि केसीले आरोप लगाए । उनले भने, ‘नेपालीहरुको व्यवहार यहाँ उत्पादन निर्यात गरेर चलेको होईन, नेपालले गर्ने निर्यात भनेको हाम्रा छोराछोरीहरु हुन् । उनीहरुले पठाएको रेमिट्यान्सले व्यवहार चलेको छ ।’

सरकारले यो एक वर्षको अवधिमा साना तिना भ्रष्टाचारीहरुलाई पक्राउ गरेको भए पनि ठूला तस्करी र भ्रष्टाचारीहरुलाई पक्राउ गर्न नसकेको केसीको आरोप छ । उनले भने, ‘साना भ्रष्टाचारी र भरिया पक्रिएर केही हुँदैन् । छुपे रुस्तम कुनामा अहिले पनि ठूला ठूला माछा र तस्करहरु सुरक्षित छन् ।’

अध्यक्ष केसीले गणतन्त्र र धर्मनिरपेक्षता आउनु राम्रो भए पनि संघीयताले नेपाली जनतामाथि पीडा थपिदिएको गुनासो पोखे । उनले भने, ‘संघीयताले जनतामा पीडा थपिदिएको छ ।’ संघीय व्यवस्थाअनुसार तीन तहको सरकार बने पनि यिनीहरुको पहिलो र मख्य काम भनेको आफ्नो सेवा सुविधा लिने मात्रै देखिएकोले यसले पनि नेपालीहरुमा झन झन पीडा थपिएको उनको भनाई छ ।

केसीले वर्तमान सरकारले जनताको मन छुन नसकेको आरोप लगाए । उनले भने, ‘संघीयता धान्नको लागि चर्को कर लगाउनुपर्ने देखिएको छ । यसले जनता झन पीडित भएका छन् ।’ उनले संघीयताको कुनै औचित्य नभएको भन्दै अझै एक दुई वर्ष ररिरहे यसको विरुद्धमा जनता सडकमा उत्रिने पनि ठोकुवा गरे ।
नेकपाका नेता आनन्द पोखरेलले भने सरकारको एक वर्षे कार्यकालको मुल्यांकन गर्दा आफूले ‘डिस्टिंक्शन’ दिने बताए । उनले भने, ‘सरकार अलोकप्रिय भएको भए अरु दलको समर्थन यतिबेलासम्म फिर्ता भइसक्थ्यो । अहिलेसम्म समर्थन जारी छ । त्यसैले सरकार अहिले पनि सही ट्रयाकमा छ ।’

पोखरेलले वर्तमान सरकार घोषित उद्देश्यअनुसार नै अघि बढिरहेको जिकिर गरे । उनले भने, ‘कांग्रेसले बजेट ल्याउँदा समर्थन गरेकै हो । बजेट सर्वस्विकृत पारित भएको हो ।’ उनले सरकार प्रमुख प्रतिपक्षी दललाई समेत विश्वासमा लिएर अघि बढिरहेको जिकिर गरे ।

सुन तस्करीदेखि लिएर अन्य तस्करहरुलाई समेत सरकारले नियन्त्रणमा लिएको र कानुनी कारबाही गरेको पोखरेलले बताए । उनले भने, ‘कतिपयलाई त जेल हालेको छ । तस्करी नियन्त्रण गर्न सरकारले काम गरेको छ ।’

पोखरेलले अरुले आरोप लगाएजस्तो मूल्यवृद्धि धेरै नरहेको पनि टिप्पणी गरे । उनले भने, ‘मुल्यवृद्धि पनि ट्रयाकमा छ ।’ यही सरकारले योगदानमा आधारित पेन्सनको कार्यक्रम ल्याएको पनि पोखरेलले सुनाए । उनले भने, ‘प्रधानमन्त्री रोजगारका कार्यक्रम पनि अघि बढाएको छ ।’ मजदुरहरुको ज्याला पनि ३९ प्रतिशत वृद्धि गरेको उनले सुनाए ।

त्यस्तै नेता पोखरेलले सरकारले कृषि पेन्सन कार्यक्रम पनि छिट्टै लागु गर्ने सुनाए । उनले भने, ‘हिजोमात्रै जलविद्युतमा जनताको लगानी कार्यक्रम सुरु भएको छ । सरकारले धेरै राम्रो काम गरेको छ ।’ उनले नेपालले छिमेकीहरुसँग पनि सम्बन्ध सुमधुर बनाएको दाबी गरे । उनले थपे,‘ल्याण्ड लक्डबाट हामीले ल्याण्ड–लिंक्ड बनाएका छौं ।’

यद्यपी उनले जनताका सबै चाहनाहरु पूरा नभए पनि सरकार सही ट्रयाकमा रहेको सुनाए । उनले भने, ‘हो, जनताका अपेक्षाहरु अहिलेपनि पुरा भएका छैनन् । तर, सरकार सही ट्रयाकमा छ ।’

Advertisement

Advertisement

Advertisement