बेलायती साँसदसँग कुरा गर्दै खतिवडाले भने– नेपालको समावेशीताबाट विश्वले केही सिकोस्

Advertisement

काठमाडौं । बेलायत भ्रमणमा रहेका अर्थमन्त्री युवराज खतिवडासँग बेलायतको हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड वेटस्ले नेपालको विकास बारेमा चासो व्यक्त गरेका छन् । नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्रयाउन बेलायत पुगेका मन्त्री खतिवडासँग हाउस अफ कमन्समा भएको भेटघाटमा बेलायती मन्त्री लर्डले २०७२ सालको विनासकारी भूकम्पपछिको पुर्ननिर्माण, संघीयत कार्यान्वयन र विकासको बारेमा चासो राखे ।

जवाफमा मन्त्री खतिवडाले नेपालमा जारी भएको लोकतान्त्रिक संविधान विश्वमै उत्कृष्ट मध्येको एक भएको भन्दै समावेशीताले पूर्ण अभ्यास भएको रहेको जिकिर गरे । संसदमा ९० प्रतिशत भन्दा बढि सदस्यले हस्ताक्षर र सहयोगमा निर्माण भएको संविधानकै आधारमा निर्माण भएको नेपालको संघीय संरचना विश्वमा उदाहरणीय भएको बताए ।

नेपालको संसदमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सिमान्तकृत समुदायको एकतिहाई भन्दाबढी प्रतिनिधित्व भएको खतिवडाले बताए । खतिवडाको भनाईमा समर्थन जनाउँदै लर्डले पनि नेपालबाट संसारले समावेशीताको विषय सिक्नुपर्ने बताए ।

लर्डले खतिवडासँग मुलुक संघीयतामा गएको अवस्थामा राज्यले राजस्वको परिचालनलाई कसरी प्रभावकारी बनाउने ? भन्ने सम्बन्धमा बेलायतको भनुभव समेत सुनाएको अर्थ मन्त्रालयले जनाएको छ । उनले नेपालको विकास प्रक्रियामा बेलायतले सदैव सघाउन तयार भएको बताए ।

मन्त्री खतिवडाले पुर्ननिर्माणको काम भइरहेको र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुको निर्माण कार्य तिव्र रुपमा अघि बढेको बताए । उनले बेलायत नेपालको पहिलो कुटनैतिक सम्बन्ध कायम रहेको मित्रराष्ट्र भएकाले दुवै देशबीचको सहकार्य थप उचाईमा पुग्ने बताए ।

Advertisement

Advertisement

Advertisement