जबसम्म काम नगर्ने कर्मचारीलाई दण्डित गरिन्न, तबसम्म देश विकास हुन्नः नेपाल

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधव नेपालले प्रशासनिक संयन्त्रलाई अनुशासित तुल्याउन सरकारलाई सुझाव दिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको साधारणसभामा शनिबार उनले काम नगर्ने कर्मचारीलाई दण्डित गर्न तथा अनुचित रूपमा पदको दुरुपयोग गर्नेलाई सजाय गर्न ध्यानाकर्षण गराए ।

नेता नेपालले भने, “अराजकतालाई नियन्त्रण गरिएन भने राज्य कमजोर हुन्छ, अहिले डर भन्ने कुरा हराएको छ, गलत काम गरे भने मलाई सजाय हुन्छ भन्ने कुरा रहेन ।” प्रधानमन्त्री केपी ओलीतर्फ लक्षित गर्दै उनले कम बोल्ने अरुका कुरा धेरै सुन्ने बानीको विकास हुन आवश्यक रहेको बताए । नेपालले भने, “राज्यबाट विषयवस्तुको अध्ययन, अनुसन्धान, अनुगमन, मूल्याङ्कन र दण्ड सजायको व्यवस्था हुन आवश्यक छ ।”

विना मेहनत रातारात धनी हुने प्रवृत्ति अहिले हाबी हुँदै गएको बताउँदै उनले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकेसम्म जनताले सहजरूपमा सेवासुविधा प्राप्त गर्न र राज्य विकासको पथमा अघि बढ्न सक्दैन् भने ।

काङ्ग्रेस नेता रामशरण महतले अहिलेको युग भनेको आर्थिक सम्मुन्नति र समृद्धि युग भएको बताउँदै भने, ‘अहिलेको मूल एजेण्डा नै आर्थिक समृद्धि हो, जलस्रोत, कृषि र पर्यटनको माध्यमबाट मुलुक विकासको प्रशस्त सम्भावना छ, त्यसका लागि शान्ति सुरक्षा, काम गर्ने वातावरण, प्रविधिको प्रयोग र उद्यमशीलता आवश्यक छ ।”

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य चन्द्रमणि अधिकारीले हाम्रा उत्पादनलाई स्थानीय र अन्तर्राष्ट्रियकरण गर्न नसक्दा मुलुकले आर्थिक प्रगति हासिल गर्न नसकेको बताए । अर्थविद् नारायण तिवारीले सरकार र व्यवसायीबीच देखिएको अविश्वास हटाएर मुलुकको समृद्धिका लागि एकाकार भएरै अघि बढ्दा देश र दुनियाँको भलो हुन्छ भने ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष नरेश कटुवालले साना उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने कुरामा सरकारबाट आवश्यक सहयोग नभएको गुनासो गरे ।

Advertisement

Advertisement

Advertisement