विकासमा लापरवाही: सवस्टेशनको निर्माण सक्न एघार वर्ष

Advertisement

काठमाडौं। सामान्यतया एउटा सवस्टेशनको निर्माण सक्न कति समय लाग्ला? नेपाल विद्युत् प्राधिकरणका अनुसार लगातार काम भयो भने बढीमा डेढ वर्ष। तर प्राधिकरणले नै निर्माण गरेको एक सवस्टेशन सम्पन्न गर्न करीब ११ वर्ष लागेको छ।
सल्यान जिल्लाको शीतलपाटीमा रहेको ३३/११ किलोभोल्ट क्षमताको सवस्टेशनको निर्माण सम्पन्न गर्न करीब ११ वर्ष लागेको प्राधिकरणले जनाएको छ । विसं २०६४ असार २५ गते निर्माण शुरु भएको सो सवस्टेशन शुक्रबार मात्रै औपचारिकरुपमा निर्माण सकिएको घोषणा भएको हो ।

सल्यान जिल्लाका तीन हजार र रुकुम पश्चिमका नौ हजार घरधुरीमा विद्युत् उपलब्ध गराउन महत्वपूर्ण मानिएको सवस्टेशन निर्माण हुन लामो समय लाग्दा स्थानीय विद्युत् उपभोक्ता समस्यामा परेका थिए ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार सो सवस्टेशनको उद्घाटन गरे । सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ निर्माण शुरु भएको सवस्टेशनको निर्माणकर्ता श्री हरि निर्माण सेवा, राप्ती निर्मल निर्माण सेवा जेभी थियो ।

‘बाह्र वर्षमा खोला पनि फर्कन्छ’ भन्ने नेपाली उखान जस्तै सधैँ समस्यामा फस्दै आएको सो सवस्टेशनको निर्माण सम्पन्न गर्न प्राधिकरणले विशेष पहल गर्दै आएको र हाल आएर मात्र निर्माण सम्पन्न हुन सकेको कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।

नेपाल सरकार र प्राधिकरणको कूल रु दुई करोड ९३ लाख ५३ हजार ६६६ कूल लागत रहेको सो सवस्टेशन ठेक्का सम्झौता भएको मितिले डेढ वर्षमा सकिनुपर्ने थियो । तर ठेकेदारले तोकिएको समयमा काम नगर्दा सवस्टेशन निर्माण प्रक्रिया अवरुद्ध आएको थियो ।

सवस्टेशन नहुँदा सल्यान र रुकुमका उपभोक्ताले सहजरुपमा विद्युत् सेवा पाउन सकेका थिएनन् । बाह्र वर्षमा १४ मन्त्री फेरिए तर सामान्य सवस्टेशनसमेत नबन्दा स्थानीयले भरपर्दो विद्युत् सेवा नपाएको भन्दै पटकपटक सरकारको ध्यानाकर्षण गराएका थिए । सल्यानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद टेकबहादुर बस्नेतका अनुसार पछिल्लो समयमा प्राधिकरणको सकारात्मक पहल पछि आयोजना सम्पन्न भएको हो ।

मन्त्री पुनले आयोजना सम्पन्न हुन लामो समय लाग्नुको पछाडि ठेकेदारको बदमासी रहेको र कानूनी कारवाही नहुँदा ठेकेदारले नै मन्त्री चलाउने अवस्था देखिएको बताए।

मन्त्री पुनले तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारवाही हुने र समयमै काम सम्पन्न गर्नेलाई आगामी दिनका अन्य निर्माण कार्यको अवसर दिने बताउँदै आएका छन् ।

कूल ३३ केभी क्षमताको सवस्टेशन निर्माणका लागि ठूलै प्रयास गर्नुपरेको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चालू आवमा ५५ वटा सवस्टेसनको निर्माण र स्तरोन्नति सम्पन्न गर्ने जानकारी दिए।

Advertisement

Advertisement

Advertisement