सर्वसाधारणलाई सेयर दिने अन्तिम तयारीमा एनसेल

Advertisement

काठमाडौं । निजी क्षेत्रकोे दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रूपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरू पब्लिकमा जानुपर्ने भएकाले त्यसैअनुसार तयारी भइरहेको कम्पनीले जनाएको छ ।

‘हाम्रो तर्फबाट हुनुपर्ने कानुनीलगायतका तयारी पूरा भइसकेको छ’ नाम उल्लेख नगर्ने सर्तमा कम्पनीका एक अधिकारीले भने, छिट्टै कम्पनी रजिस्ट्रार कार्यालयमा पब्लिक कम्पनीका रूपमा दर्ता गराउँदैछौँ । उनका अनुसार दूरसञ्चार ऐन २०५३ मा पनि संशोधनको प्रक्रिया अघि बढेको अवस्थामा सेयर संरचनाका कतिपय विषयमा भने कम्पनीले अझै निर्णय गर्न सकेको छैन तर कानुनमा व्यवस्था भएअनुसार वैशाखभित्र पब्लिक कम्पनीका रूपमा दर्ता हुन्छौँ ।

पब्लिक कम्पनीमा रूपान्तरण भइसकेपछि एनसेलले सर्वसाधारणमा पनि सेयर जारी गर्नुपर्नेछ । पछिल्लो पटक २०७४ सालमा भएको संशोधित व्यवस्थाअनुसार पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनीमध्ये ‘हाल दर्ता भएका प्राइभेट कम्पनीले दुई वर्षभित्र यस दफा (१२) बमोजिम पब्लिक कम्पनीमा परिणत भइसक्नुपर्नेछ, उल्लेख छ । २०७४ वैशाख १९ गते प्रमाणीकरण भएको उक्त संशोधन विधेयकका अनुसार अब बढीमा दुई महिनाभित्र त्यस्ता कम्पनीले पब्लिक कम्पनीमा परिणत हुनुपर्नेछ । ऐनमा व्यवस्था भएअनुसार समयसीमा कम रहेकाले छिटै पब्लिक कम्पनीमा दर्ता हुन आवेदन दिने तयारी गरिएको ती अधिकारीले जानकारी दिनुभयो । एनसेलको चुक्ता पुँजी १० करोड रुपियाँ छ ।

शुरुमा मेरो मोबाइलको नाममा सेवा बिक्री गर्दै आएको स्पाइस नेपालले सन् २०१० मा स्विडेनको दूरसञ्चार कम्पनी टेलियासोनेरालाई स्वामित्व बिक्री गरेपछि त्यसयता एनसेलको रूपमा सेवा सञ्चालन हुँदै आएको छ । मुख्य लगानीकर्ता टेलियासोनेराले २०७२ पुस ६ गते एनसेलमा रहेको आफ्नो ६०.४ प्रतिशत सेयर एक अर्ब तीन करोड अमेरिकी डलरमा मलेसियाली कम्पनी एजियाटालाई बिक्री गरेको निर्णय सार्वजनिक गरेको थियो ।

सो निर्णयपछि त्यतिबेला एनसेलमा स्थानीय साझेदारका रूपमा रहेका निरज श्रेष्ठको २० प्रतिशत सेयर पनि एजियटाले छनोट गरेको स्थानीय साझेदार भावनासिंह श्रेष्ठलाई बिक्री गरिएको थियो । भाइजर क्यापिटलको नाममा बाँकी रहेको १९.६ प्रतिशत सेयर पनि एजियाटाई नै पछि बिक्री गरिएको थियो । यसअनुसार एनसेलको ८० प्रतिशत सेयर हाल एजियटा र बाँकी २० प्रतिशत सेयर स्थानीय साझेदार श्रेष्ठसँग रहेको छ । एजियटाले २०७३ वैशाखमा एनसेलको सेयर खरिद बिक्रीसम्बन्धी सम्पूर्ण काम पूरा गरेर कम्पनी आफ्नो मातहत ल्याएको थियो ।

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनीका रूपमा रहेको एनसेलले २०६१ भदौ १६ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल सेवा सञ्चालनको अनुमति पाएको थियो । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार एनसेलका हाल एक करोड ६३ लाख मोबाइल प्रयोगकर्ता छन् । कुल दूरसञ्चार बजारमा एनसेलको हिस्सा ४१ प्रतिशत छ । एनसेलले अघिल्लो आर्थिक वर्ष मात्रै ५९ अर्ब रुपियाँ आम्दानी गरेको थियो ।

आजको गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement