अबको दशैंमा अन्नपूर्ण केबलकार चढेर सराङकोट घुम्न सकिने

Advertisement

पोखरा । यो वर्षको दशैंमा केबलकार चढेर सराङकोट घुम्न सकिने भएको छ। तीन–चार महिनाको परीक्षणपछि केवलकार सर्वसाधारणले चढ्न सकिने हुँदै छ । आउँदो वैशाखभित्र तारको लठ्ठा हालिसकिने र त्यसपछि डिब्बा जडान गरेर प्राविधिक/इन्जिनियरिङ परीक्षण गरिने केबलकार प्रालिले जनाएको छ ।

केबलकार प्रालिले गत माघदेखि केबलकार निर्माण सुरु गरेको थियो। अहिले काम टुंग्याउने चरणमा छ। भवन निर्माण अन्तिम चरणमा छ। मुख्य स्टेसनको काम भइरहेको प्रालिले जानकारी दिएको छ । टावर पनि १५ वटा जडान गरिसकिएको छ।

अन्नपूर्ण केबलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले वैशाखभित्रमा तारको लठ्ठा तानेर चलाउन सुरु गर्ने बताए, उनले भने ‘आउँदो दसैंमा सर्वसाधारणले केवलकार चढ्न पाउँछन्। ’

अबको दुई महिनाभित्रमा बाँकी तीनवटा टावर जडान गरिसक्ने लक्ष्य प्रालिले लिएको छ। ‘तीनवटा टावर जडान गर्न बाँकी छ, टावर जडान गर्न जापानी प्राविधिक नै खटिएका छन्,’ प्रोजेक्ट इन्जिनियर शैलेन्द्रकुमार सिकेले भने, ‘वैशाखभित्रमा टावर उठाइसक्छौं। तार (लठ्ठा) तानेर प्राविधिक परीक्षणका लागि सञ्चालन गरिनेछ। ’ उनका अनुसार अहिले मुख्य जक्सन टावरको डिब्बा घुम्नका लागि आवश्यक सामान फिट गरिँदै छ।

अन्नपूर्ण केबलकार पोखरा महानगरपालिकाको सेदी–सराङकोटसम्म दुई दशमलव ४ किलोमिटरको दूरीको छ।
लठ्ठा भारतको कोलकाताबाट नेपाल भित्रिसकेको छ। टावरको अन्य सामग्री जापानबाट ल्याइएको हो । जापानस्थित निपोन कम्पनीका सामान हुन्। सोही कम्पनीबाट तीनजना प्राविधिकले जडान कार्य गरिरहेका छन् । अन्नपूर्ण केबलकार पोखरा महानगरपालिकाको सेदी–सराङकोटसम्म दुई दशमलव ४ किलोमिटरको दूरीको छ। केबलकार निर्माणको सिभिलको काम भने चितवन कोई प्रालिले लिएको छ। चितवन कोईले इपिसी ९इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन मोडलमा निर्माण गरिरहेको छ। ७५ प्रतिशतभन्दा बढी काम भइसकेको कम्पनीले जनाएको छ।

सराङकोटको टावर एक हजार पाँच सय ९५ मिटरको उचाइमा छ। केबलकार भने एक हजार पाँच सय १५ मिटरको उचाइमा रोकिनेछ। तल्लो स्टेसन समुद्री सतहदेखि आठ सय ७० मिटरको उचाइमा छ। त्यो दूरी केवल आठ मिनेटको यात्रामा पूरा हुनेछ। केबलकारमा १८ वटा  डिब्बा राखिने जनाइएको छ। १७ वटा डिब्बाले यात्रु बोक्नेछ भने एउटा डिब्बासामान ओसार्न प्रयोग गरिनेछ। प्रत्येक डिब्बामा आठजना बस्न मिल्ने क्षमताको हुने बताइएको छ। टावर पाँच मिटरदेखि १ सय ५० मिटर दूरीको फरकमा राखिएको प्राविधिक प्रोजेक्ट इन्जिनियर सिकेले बताए।

केबलकार निर्माण भएपछि प्रतिघण्टा पाँच सय यात्रु सराङकोट उक्लिन पाउनेछन्। यात्रुको चापसँगै क्षमता विस्तार गर्न सकिने कम्पनीले जनाएको छ। भविष्यमा ३५ वटा डिब्बा सञ्चालन गरी प्रतिघण्टा एक हजार पाँच सय यात्रु ओसार्ने सञ्चालकको योजना छ। पोखरा उपमहानगरपालिका–२६ सराङकोटको सेदीबगरदेखि सराङकोट हाइटभन्दा केही तल केबलकारको जक्सन बनाइएको छ। केबलकार निर्माणका लागि ८० करोड लागत अनुमान गरिए पनि तर अहिले १ अर्ब ३१ करोड रुपियाँ पुग्ने प्रालिका निर्देशक त्रिपाठीले जानकारी गराए। केबलकार निर्माणका लागि ९० प्रतिशत स्वदेशी र १० प्रतिशत विदेशी लगानी छ।

त्रिपाठीसहित केबलकारमा रियल स्टेट व्यवसायी कालु गुरुङ, सराङकोटस्थित होटल अन्नपूर्णका सञ्चालक ताकासी मियाहारा र विदेशीले लगानी गरेका छन्। केबलकार सञ्चालनका लागि सनराइज बैंक तथा नेपाल राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन्। सनराइज लिड बैंक रहेकाले केबलकारमा वाणिज्य बैंकको भन्दा बढी ऋण लगानी गरेको छ। केबलकार निर्माणले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा नयाँ आयाम हुने विश्वास गरिएको छ।

Advertisement

Advertisement

Advertisement