क्यान्सरका बिरामीः २० प्रतिशतको मात्रै हुन्छ उपचार सफल

Advertisement

काठमाडौं । दोलखाकी सानु थापालाई लिभर क्यान्सर रोग लागेको करिब चार वर्ष भयो । यो समय खण्डमा उनले लाखौँ रुपियाँ आफ्नो उपचारमा खर्चिसकेकी छिन् । १६ देखि १७ लाख खर्च भइसकेको थापाको अनुमान छ । खर्च धेरै भए पनि उनको बाँच्ने आशा मरेको छैन् । सजिलै मृत्युलाई कस्ले पो स्वीकार्न सक्छ र ?– थापा भन्छिन् ।

समस्या जतिसुकै भए पनि सानु थापाले आफ्नो मनलाई बलियो बनाएर उपचार गराईरहेकी छिन् । उनी भन्छिन्– खोई सास छउन्जेल आश हुन्छ भन्छन्, बाँच्ने आशले लगातार उपचार गराउन आईराखेकी छु । मनमा पीडा भएपनि थोरै मुस्कुराउँदै थापाले थपिन्– समस्या पर्यो भनेर उपचार गर्न छोड्न सकिएन् । उपचारको लागि सरकारले एक लाख सहयोग गरेकाले र बीमा गरेकाले केही राहत मिलेको उनले बताइन् ।

सानु थापाले सुरुमा भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराउन आउँदा तीन महिनामा झण्डै ७५ हजार खर्च गरिन् । तीन महिनासम्म बस्दा अस्पतालले के रोग लागेको हो ? पहिचान गर्न नै सकेन् । केही उपाय नलागेपछि थापा ग्राण्डी अस्पताल गईन् । ग्राण्डीले क्यान्सर भएको बताएपछि बल्ल उनको रोग पत्ता लाग्यो ।

तर ग्राण्ड अस्पताल निकै महंगो भएकोले त्यहीं बसेर उपचार गर्न संभव भएन् र उनी फेरि भक्तपुर क्यान्सर अस्पतालमै भर्ना भइन् । सरकारी अस्पताल भएर उपचार खर्च कम लाग्ने भएकाले यहीं अहिले उपचार गरिरहेको थापाले बताइन् ।

अर्को क्यान्सरकी बिरामी पुर्नी तामाङ भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएको १५ दिन भयो । उनलाई पाठेघरको क्यान्सर भएको छ । तामाङको उपचार गर्न डेढ लाख नाघिसक्यो । सरकारले आर्थिक अवस्था कमजोर भएकालाई दिने एक लाख रकम अब भने चलाउनुपर्ने भएको उनको छोरीले बताइन् ।

‘खै पेट मात्रै दुख्छ, डाक्टरले सेकाउन पर्छ, यदि निको भएन भने अप्रेसन गनुपर्छ भन्यो रे’ तामाङले अनुहार अँध्यारो पार्दै भनिन् । क्यान्सर अस्पतालमा यस्तै समस्या झेल्दै थुपै बिरामी उपचार गरिरहेका छन् र आउँछन् पनि । यस्ता बिरामीको संख्या घट्नुको सट्टा झन बढ्दो छ । तर क्यान्सर न्यूनीकरणका सरकारी र गैरसरकारी प्रयासहरु असफल भएका छन् ।

क्यान्सर रोगीको संख्या भक्तपुर क्यान्सर अस्पतालमा सन् २०१७।१८ को तुलनामा सन् २०१८।१९ मा २० प्रतिशतले वृद्धि भएको छ । सन् २०१८ मा मात्रै अस्पतालमा क्यान्सरका तीन हजार पाँच सय विरामी उपचारका लागि आएको भक्तपुर क्यान्सर अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले बताउँछन् ।

क्यान्सर प्रायः गरेर महिलालाई धेरै देखिने गर्छ । गर्भवती भएको समयमा राम्रो स्याहार नहुँदा पनि महिला यसको बढि शिकार बनेको उनी बताउँछन् । सबैभन्दा धरै फोक्सोको बिरामी र पाठेघर तथा स्तन क्यान्सरका बिरामी बढ्दो रहेको तजलेले बताए ।

क्यान्सर अस्पतालमा अहिलेसम्म ५९ हजार ६७७ ले उपचार गर्न आएका थिए । सन् २०१८ मा मात्रै यसरी आउने बिरामीको संख्या १८ हजार १५६ रहेको छ । यो बर्ष महिला १२ हजार ५४०, पुरुष पाँच हजार १०९, बच्चाहरु पाँच सय सात जना उपचारका लागि आएको भक्तपुर क्यान्सर अस्पतालले जनाएको छ । उपचारका लागि प्रायः काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोकका बिरामी आउने गर्दछन् ।

सचेतनाको कारणले गर्दा अहिले क्यान्सरको उपचार गराउनेको संख्या बढेको तजले बाउँछन् । चेतनामूलक कार्यक्रम अस्पतालले पनि गर्दै आएको जानकारी दिँदै उनले क्यान्सर लागेको शंका लागेमा पनि मानिसहरु उपचारको लागि आइहाल्ने गरेको उनी बताउँछन् ।

तर आफूहरुले क्यान्सर लागेकामध्ये २० प्रतिशतलाई मात्र बचाउन सक्ने तजलेको भनाई छ । क्यान्सर निकै जटिल रोग भएको र अधिकांश बिरामी ढिलो गरी आउने हुँदा पनि बचाउन गाह्रो हुने अस्पतालको भनाई छ । बाहिरी अंग पाठेघर, खुट्टा, हात, स्तनलगायतका क्यान्सर मात्र निको पार्न सकिने तर भित्री अंगको क्यान्सरलाई भने नियन्त्रण मात्र गर्न सकिने तजलेको भनाई छ ।

क्यान्सर रोग लाग्ने मुख्य कारणहरु

  • विषादियुक्त खाद्यान्नको प्रयोग,

  • धुवाँ धुलो तथा प्रदुषण,

  • होटलहरुमा माछाको लागि तारेको तेल धेरै समयसम्म प्रयोग, घाउलाई राम्रोसँग निको गराउन नसकिएमा,

  • जंक फुडको अधिक सेवन


सचेतनाका कार्यक्रमले गर्दा रोगीको पहिचान गर्न अहिले सहज भएको तजलेको भनाई छ । त्यसैले पहिला भन्दा अहिले बिरामीको संख्या पनि बढको उनले बताए ।

Advertisement

Advertisement

Advertisement