सात महिनामा एक सय ६६ मुद्दा दर्ता

Advertisement

काठमाडौं । मुलुकमा भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै गइरहेको तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक बर्षको माघ मसान्तसम्म दर्ता गरेको मुद्दाको संख्याले देखाएको छ । अख्तियारले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा १ सय ६६ वटा भ्रष्टाचारको मुद्दा विषेश अदालतमा दर्ता गरेको हो ।

गत आर्थिक वर्षमा कुल १ सय ९४ वटा मुद्दा दर्ता भएकोमा चालू आर्थिक वर्षको सात महिनामा नै १ सय ६६ वटा मुद्दा दर्ता हुनु धेरै भएको अख्तियारको भनाइ छ । अख्तियारले यो संख्या अझ बढ्न सक्ने बताएको छ । अख्तियारले दर्ता गरेको मुद्दामध्ये सबैभन्दा धेरै घूसमा ७२ वटा छन् भने नक्कली शैक्षिक प्रमाणपत्रमा ४७ वटा, सरकारी अनुदान हिनामिनामा १० वटा, गैरकानुनी सम्पत्ति आर्जनमा ५ वटा, राजस्व हिनामिनामा १ वटा र गैरकानुनी लाभहानी तथा विविधमा गरी ३१ वटा छन् ।

अख्तियारका सचिव महेश्वर न्यौपानेले गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा मुद्दाको संख्या बढ्नुले पनि मुलुकमा भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै गइरहेका तथ्यांक देखिएको बताए । अख्तियारले संघीय, प्रदेश र स्थानीय सरकार गठन भएपछि भ्रष्टाचार झन् मौलाएको जनाएको छ । अख्तियारले पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै धेरै उजुरी पर्ने गरेको पनि बताएको छ । यस्तै, अख्तियारले नागरिकसँग प्रत्यक्ष सरोकार हुने सरकारी कार्यालयहरुमा अनुगमन गर्न सेवाग्राहीको रुपमा टोली खटाउने भएको छ ।

अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले नापी, मालपोत, यातायात व्यवस्था विभागलगायत सरकारी कार्यालयमा कुनै कर्मचारी नै बाँकी नरहने गरी भ्रष्टाचार भइरहेका बेला बेला अख्तियारले सेवाग्राहीको रुपमा टोली खटाउने निर्णय गरेको हो । अख्तियारका प्रमुख आयुक्त घिमिरेले नागरिकसँग प्रत्यक्ष सरोकार हुने सरकारी कार्यालयहरुमा एक दिन बिराएर स्टिङ अपरेसन गर्दा पनि पर्याप्त नभएकाले सेवाग्राहीको रुपमा टोली खटाउन लागेको जानकारी दिए ।

उनले द्रुत कारबाही समूह गठन सम्बन्धी कार्यविधि स्वीकृति भइसकेको पनि बताए । उनले समूह निमार्णको काम सम्पन्न भएपछि सेवाग्राहीका रुपमा खटिएका अख्तियारका कर्मचारीले दाषी फेला पारे तत्काल कारबाही अगाडि बढाउने भन्दै भ्रष्टाचारीको निगरानी बढाउन नागरिक निगरानी समूह गठन गर्ने तयारी गरेको पनि जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement