हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको मृत्यु (अपडेट)

Advertisement

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १०, काफ्लेपाटीमा भएको दुर्घटनास्थलमा सात जनाको शव फेला परेको फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईको भनाई उदृत गर्दै विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशित गरेका छन् ।

भट्टराईका अनुसार सात जनाकै शव फेला परिसकेको छ । दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ, जुन प्रसिद्ध तीर्थस्थल पाथिभरा नजिकै रहेको छ । घटनास्थलमा अहिले जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीसहितको उद्धार टोली पुगिसकेको छ ।

ताप्लेजुङमा अहिले कुहिरो लागिरहेको र पानी पनि परिरहेकोले उद्दारमा समस्या भइरहेको छ । पर्यटनमन्त्रीसँगै हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए।

प्रभाकर केसीले उडाएको एयर डाइनाष्टीको यो हेलिकप्टर मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । हेलिकप्टर टुक्रा टुक्रा भएर जलिरहेको अवस्थामा फेला परेको थियो । कलसाइन एएमआई (अल्फा माइक इन्डिया)को यस हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो।

Advertisement

Advertisement

Advertisement