शोक सन्देश जारी गर्दै देउवाले भने– मन्त्री अधिकारी भद्र र सुयोग्य नेता हुनुहुन्थ्यो

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गरेको छ । सो पार्टीका सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गर्दै विद्यार्थी जीवनदेखि सङ्घर्ष गरेर अघि बढेका मन्त्री अधिकारी नेपाली राजनीतिका उदीयमान युवा नेताका साथै व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो भनेका छन् ।

देउवाले मन्त्री अधिकारीको असामयिक निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल पर्यटन व्यवसायी गुमाएको भन्दै देउवाले यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको समवेदना सन्देशमा उल्लेख गरेका छन् ।

सभापति देउवाले दुर्घटनामा ज्यान गुमाएका सबैको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा शोक सहने शक्तिका लागि भगवानसँग प्रार्थना गर्दै दुर्घटनाको कारण पत्ता लगाउन सरकारसँग आग्रह गरेका छन् ।

साथै, विवेकशील साझा पार्टीले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित सात जनाको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ । सो पार्टीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement