पोष्टमार्टम नसकिएपछि श्रद्धान्जली कार्यक्रम सर्यो, शुक्रबार बिहान गरिने

Advertisement

काठमाडौं । हेलिकप्टर दुर्घटनामा मृत्युभएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको पोष्र्टमार्टम नसकिएपछि श्रद्धान्जली कार्यक्रम शुक्रबार बिहानसम्मका लागि सारिएको छ । आजै पोर्टमार्टम सकेर अपरान्ह ३ बजेबाट टुँडिखेलमा श्रद्धान्जली दिने कार्यक्रम राखिएको थियो ।

श्रद्धान्जलीका लागि आवश्यक तयारी पूरा भए पनि पोष्टमार्टमको काम ढिलो भएपछि शुक्रबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । मन्त्री अधिकारीसहित सात जनाको बुधबार दिउसो हेलिकप्टर दुर्घटनामा ताप्लेजुङमा मृत्यु भएको थियो ।

नेकपा नेता बिष्णु पौडेलका अनुसार पोस्टमार्टमका लागि समय धेरै लाग्ने जानकारी आएकाले श्रद्धान्जली दिने कार्यक्रम पर सार्नुपरेको हो । पोष्टमार्टमका क्रममा मन्त्री अधिकारीसहित दुई जनाको मात्रै शब पहिचान भएको छ अन्यको डीएनए परीक्षण गर्नुपर्ने स्थिति रहेकाले कार्यक्रम सार्नुपरेको हो ।

श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, विपक्षी दलका नेता, उच्चपदस्थ व्यक्तिहरु पुग्ने कार्यक्रम तय भइसकेको थियो । श्रद्धान्जली दिन नेकपाका कार्यकर्तादेखि मृतकका शुभचिन्तकहरु टुँडिखेल पुगिसकेका थिए ।

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको मृत्यु भएको थियो ।

Advertisement

Advertisement

Advertisement