रविन्द्रलाई सम्झिदै युवा नेताहरुले भने– हामीले विकासप्रेमी, निष्कलंकित, मिलनसार नेता गुमायौं

Advertisement

काठमाडौं । सत्तारुढ दल नेकपाका नेता रुपनारायण श्रेष्ठले पर्यटनमन्त्री रविन्द्र अधिकारीको असमायिक निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा श्रेष्ठले नेपालका सबै पार्टीका युवा नेताहरुको लागि स्वर्गीय अधिकारी ‘रोल–मोडल’ भएको पनि प्रतिक्रिया दिए । उनले भने, ‘उहाँले नेपालको विद्यार्थी आन्दोलनलाई मूल प्रवाहमा ल्याउनुभएको हो । विद्यार्थी आन्दोलनलाई दिशा दिने काम उहाँले गर्नुभयो । उहाँ सबै पार्टीका युवा नेताहरुको लागि रोलमोडलका रुपमा स्थापित हुनुहुन्थ्यो ।’

श्रेष्ठले स्वर्गीय अधिकारी बोलेको कुरा पूरा गरेरै छाड्ने नेताको रुपमा चिनिएको सुनाए । उनले भने, ‘उहाँ बोलेको कुरा पुरा गर्नुहुन्थ्यो । उहाँ बोल्दै बोल्नुहुन्न थियो, बोलेपछि परिणाम दिएरै छोड्नुहुन्थ्यो ।’

नेता श्रेष्ठले अधिकारीले सार्वजनिक यातायातमा ३३ प्रतिशत भाडा छुटको लागि सशक्त भूमिका खेलेको भन्दै उक्त योगदानको सँधै स्मरण रहिरहने पनि जनाए । उनले भने, ‘सिमा सुरक्षाको अभियान पनि चलाउनुभयो । उहाँले धेरै अनुकरणीय काम गर्नुभएको थियो ।’

संसदको विकास समितिको सभापति हुँदादेखि अहिले पर्यटनमन्त्री हुँदा अधिकारीले प्रभावकारी काम गरेको उनले जनाए । श्रेष्ठले भने, ‘उहाँले देशलाई समृद्ध बनाउनुपर्छ भनेर धेरै सशक्त भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लो समय मन्त्री भएपछि त उहाँले पर्यटन क्षेत्रको विकासको लागि अतुलनीय योगदान पुर्याउनुभएको छ । उहाँ अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण द्रुत गतिमा गर्नुपर्छ भनेर लागिरहनुभएको थियो ।’

उनले अधिकारीले नेकपाको मात्रै नभएर सिंगो नेपालको प्रिय विकासवादी युवा नेताको छबि बनाएको विश्वास दिलाए । श्रेष्ठले भने, ‘उहाँको अभाव यो राष्ट्रलाई सँधै खड्किरहन्छ ।’

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफू र स्वर्गीय अधिकारीबीच निकै आत्मीय सम्बन्ध रहेको सुनाए । उनले भने, ‘उहाँ त नातामा पनि मेरो दाजु नै हुनुहुन्थ्यो । हाम्रो क्षेत्रमा उहाँको ठूलो प्रभाव छ । उहाँ वास्तवमा हामी युवाहरुको लागि रोल–मोडल नै हुनुहुन्थ्यो ।’

पौडेलले अधिकारीलाई अत्यन्तै सह–हृदय, मिलनसार र सरल व्यक्तिको रुपमा चित्रण गरे । उनले भने, ‘म त उहाँको नातामा भाई पर्छु, तर उहाँ नातामा भाई नपर्नेहरुलाई पनि आफू दाई भएको महशुस गराउनुहुन्थ्यो ।’

मुलुकले निकै धेरै आशा गरेको युवा नेता गुमाएको भन्दै पौडेलले अधिकारीलाई सबै पार्टीका युवा नेताहरुले रोलमोडलको रुपमा लिएको सुनाए । उनले भने, ‘अत्यन्तै लोकप्रिय हुनुहुन्थ्यो, ०६४, ०७० र ०७४ को निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँले पोखरामा पनि राम्रो छबि बनाउनुभएको थियो ।’

अधिकारीमा विकासप्रति अत्यन्तै गहिरो लगाव रहेको पनि पौडेलले सुनाए । उनले भने, ‘उहाँले विकास समितिको सभापति हुँदा धेरै काम गर्नुभएको छ । उहाँले विकाससम्बन्धी जागरण नै चलानुभएको थियो । त्यतिमात्रै होईन, उहाँ धेरै सिर्जनशील हुनुहुन्थ्यो । साहित्यमा पनि त्यतिकै पोख्त हुनुहुन्थ्यो । सिर्जनशील व्यक्तित्व हुनुहुन्थ्यो ।’

समाज र देशको लागि केही गर्नुपर्छ भन्ने हुटहुटी अधिकारीमा रहेको पौडेलले सम्झिए । उनले भने, ‘समकालिन नेताहरुमा उहाँ नेपाल बुझेको नेतामा पर्नुहुन्थ्यो । उहाँले प्रविण गुरुङको सडक दुर्घट्नामा निधन हुँदा निडरता प्रस्तुत गर्नुभएको थियो । राजाको विरुद्धमा आन्दोलन नै चलाउनुभयो ।’

अधिकारीमा एउटा राजनीतिज्ञमा हुनुपर्ने सबै गुणहरु रहेको पनि पौडेलले सुनाए । उनले भने, ‘उहाँ सबै पक्षमा अब्बल हुनुहुन्थ्यो । उहाँ बाँचेको भए वाईडबडी प्रकरणमा आफूलाई निष्कलंक सावित गर्नुहुन्थ्यो ।’ पर्यटनमन्त्री भइसकेपछि अधिकारीले यो क्षेत्रको विकासको लागि एक वर्षमा धेरै काम गरेको उनले सुनाए ।
नेता पौडेलले भने, ‘यो एक वर्षमा उहाँले धेरै ठूलो काम गर्नुभएको थियो । एयरपोर्ट सुचारुदेखि लिएर नयाँ एयरपोर्ट बनाउनको लागि उहाँले धेरै काम गर्नुभएको थियो ।’ अधिकारी कम्युनिष्ट भएपनि परम्परावादी नभएर आधुनिक भएको पनि उनले सुनाए ।

फरक प्रसँगमा उनले काँग्रेसभित्र अहिले केही अन्तरविरोध देखिएकोजस्तो भएपनि पार्टीलाई मिलाएर एक ढिक्का बनाएर लैजानुपर्ने बताए । उनले भने,‘पार्टीलाई बलियो बनाउनुपर्छ । यसको लागि पार्टी सभापतिजीले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । बहुमत र अल्पमतको आधारमा होईन, एकमतले निर्णय गराउनुपर्छ ।’

राष्ट्रिय जनता पार्टीका महासचिव मनिष सुमनले स्वर्गीय रविन्द्र अधिकारी अत्यन्तै असल नेता रहेको सुनाए । उनले भने, ‘उहाँ व्यक्तिगत रुपमा धेरै राम्रो व्यक्तित्व हुनुहुन्थ्यो । मेरो उहाँसँग गत माघ १७ गते अन्तिम भेट भएको थियो । त्यो पनि विमानस्थलमा । मैले त्यो भेटमा जनकपुर एयरपोर्टमा रात्रिकालिन सेवाको लागि आग्रह गरेको थिएँ । उहाँले तत्पश्चात् काम गर्नुभयो । उहाँ बोलेको कुरा पूरा गर्ने नेताको रुपमा चिनिनुहुन्थ्यो ।’

सुमनले आफूहरु धेरै कार्यक्रममा सँगसँगै रहेको पनि सुनाए । उनले भने, ‘उहाँ र म एउटै कोठामा पनि सुतेका छौं । उहाँ विकासप्रति निकै गम्भिर हुनुहुन्थ्यो । उहाँले कहिल्यै पनि मधेसको विरोधमा बोल्नुभएन । बरु, पार्टीले हामीलाई तथानाम गाली गर्दा त्यसको विरोधमा सार्वजनिक रुपमै दुःख व्यक्त गर्नुभएको थियो ।’

सिँगो मधेस नै अधिकारीको व्यक्तित्व र विचारबाट प्रभावित बनेको सुमनले सुनाए । उनले भने, ‘उहाँ विकासप्रति दुरदृष्टि राख्ने नेता हो । अत्पायुमै निधन भएकोले राष्ट्रलाई ठूलो क्षति पुगेको छ । सिँगो देशलाई यो ठूलो क्षति हो ।’ स्वर्गीय अधिकारी विलाषिताभन्दा धेरै टाढा रहेको पनि सुमनले सुनाए ।

उनले थपे, ‘मैले उहाँमा घमण्ड र लोभ देखेको थिईंन ।’ अधिकारी पोखरामा अत्यन्तै लोकप्रिय भएको कुरा आफूले स्वयम देखेको पनि उनले सुनाए । अधिकारीको जीवन सँधै सफल रहेको सुमनको भनाई छ । उनले भने, ‘उहाँ बेदाग भएर जानुभयो ।’
फरक प्रसँगमा सुमनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिता लिएकैसरह भएको पनि स्पष्ट पारे । उनले भने, ‘यो सरकारको कुनैपनि कृत्य र कु–कृत्यसँग हाम्रो कुनै साईनो छैन् । सरकार गठन गर्दा फागुन ३ गते उहाँहरु सरकारलाई समर्थन गर्नुहोस भन्दै भीक्षा माग्न आउनुभएको थियो । तर, सरकारले अहिलेसम्म हामीसँग गरेको वाचा र सहमति पालना गरेन् । अहिलेसम्म यो सम्बन्धमा कुनै नविकरण भएन् ।’

Advertisement

Advertisement

Advertisement