‘दुध, अण्डा, कुखुरा र बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैयो, अब पालो खसी–बोकाको’

Advertisement

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले नेपाललाई कृषि तथा पशुपन्छीमा आत्मनिर्भर बनाउनेगरि काम भइरहेको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा मन्त्री खनालले भने, ‘अहिले पनि हामी धेरै कुरामा आत्मनिर्भर भइसकेका छौं । अरु कुरामा पनि आत्मनिर्भर गर्नेगरि काम गरिरहेका छौं । अहिले दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भएका छौं ।’

मन्त्री खनालले खसी–बोकामा केही वर्षभित्र आत्मनिर्भर हुने दाबी गरेका छन् । त्यस्तै, उनले फलफुलमा नेपाललाई आत्मनिर्भर आगामी ५–६ वर्षभित्र आत्मनिर्भर बनाउने घोषणा गरे ।

कृषिमा सरकारले दिँदै आएको अनुदानलाई थप व्यवस्थित गर्नको लागि अध्ययन गर्न कार्यदल बनाएर काम भइरहेको पनि मन्त्री खनालले जानकारी दिए । उनले भने, ‘कृषिमा दिईएका अनुदानहरुलाई व्यवस्थित् गर्नुपर्छ । अनुदानमा केहीमा हामीले पुनरावलोकन गर्नुपर्छ । केहीमा अनुदान बढाउनुपर्छ । आन्तरिकमात्रै होईन, वैदेशिक अनुदानलाई पनि चुस्त दुरुस्त बनाउनको लागि हामीले पहल गरेका छौं ।’

मन्त्री खनालले कर्णाली प्रदेशमा प्राङगारिक कृषि प्रणाली (अर्गानिक एग्रिकल्चर फाम) को केन्द्र बनाउने गरि स्थान चयन गरिसकेको सुनाए । त्यस्तै, आधुनिक कृषि प्रणालीको लागि उदयपुरको बेलका नगरपालिकामा मोडल फाम बनाउने तयारी गरिसकिएको पनि उनले जनाए । खनालले भने, ‘त्यहाँ सात हजार बिघा बाँझो जमिन रहेको छ, अब हामी प्राङगारिक र आधुनिक दुवै कृषि प्रणालीलई द्रुत गतिमा अघि बढाउँछौं ।’

आगामी बजेटमा तीन मुख्य कार्यक्रम र १७ योजनाहरु अघि बढाउने पनि उनले जनाए । खनालले भने,‘ती कार्यक्रमहरु गेम चेन्जर योजना हुन् । आगामी ५ वर्षभित्र कृषिमा हामी आत्मनिर्भर हुन्छौं ।’ त्यस्तै उनले किसानलाई परिचयपत्र वर्गीकरण गरेर वितरण गर्ने, सोइल हेल्थ कार्ड वितरण गर्ने र किसान कल्याण परिचयपत्र पनि वितरण गर्ने सुनाए ।

मन्त्री खनालले किसानलाई सहुलियतमा ऋण दिनेगरि आफूले व्यवस्था गरिसकेको सुनाए । त्यस्तै, पाँच हजार युवाहरुलाई व्यवस्थित गर्नेगरि पुर्वदेखि पश्चिमसम्म एउटा रोष्टर तयार पार्ने पनि उनले सुनाए । खनालले भने, ‘युवाहरुले उत्पादन गरेका उत्पादनहरुको बजारीकरण गर्छौं ।’ यो कार्यक्रमलाई अघि बढाउनको लागि आगामी बजेटमा पाँच सय करोड माग गरिएको पनि उनले सुनाए ।

विदेशबाट आयात हुने धुलो दुधमा प्रतिवन्ध लगाईएको खनालले सुनाए । उनले भने, ‘कैलाली र कञ्चनपुरमा फ्याक्र्टी छ, अब अर्को फ्याक्र्टी कोहलपुरमा खोल्छौं ।’ मन्त्री खनालले प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम प्रभावकारी नभएको भन्नेबारे आफू र प्रधानमन्त्री केपी ओलीबीच केही दिन पहिले छलफल तथा समिक्षा भएको पनि सुनाए । उनले भने, ‘कार्यक्रम जसरी प्रभावकारी हुनुपर्दथ्यो, त्यो नभएको हो । अब यसलाई पनि प्रभावकारी बनाउनुपर्छ ।’

अहिले सरकराले १४ वटा ‘सुपर–जोन’, ६९ वटा जोन, केही सय बल्क र केही हजार पकेट निर्धारण गरेको सुनाउँदै खनालले भने, ‘यी मध्ये सुपर जोन र जोन अहिले केन्द्रले हेरिरहेको छ । बल्क र पकेट चाहीँ प्रदेशलाई हस्तान्तरण गरिएको छ । यसलाई प्रभावकारी बनाउनको लागि सुपर जोन केन्द्रमा राख्ने, जोनलाई प्रदेशलाई दिने, बल्क र पकेटलाई स्थानीय सरकारलाई दिनुपर्छ ।’ अब कृषि क्षेत्रमा परीणाम दिनेगरि काम गर्ने पनि उनले सुनाए ।

सुपर–जोन, जोनलगायतका कार्यक्रमहरु राम्रा रहेको र यसको लागि केही कर्मचारीको अभाव रहेको पनि उनले सुनाए । मन्त्री खनालले भने, ‘यी कार्यक्रमहरुमा अहिले कर्मचारीको कमी छ ।

तरकारीको क्षेत्रमा पनि नेपालले पछिल्लो समय राम्रो प्रगति गरेको मन्त्री खनालको दाबी छ । उनले भने, ‘उत्पादनको तहमा क्षेत्र विशेष, बाली विशेष र मूल्य निर्धारणको कमी छ । यसमा पनि हामीले विशेष ध्यान दिएका छौं ।’ खनालले पछिल्लो समय हरियो तरिका नेपालमा कम आयात भएको पनि दाबी गरे । किसानहरुले उत्पादन गरेको तरिकाहरुको मूल्य निर्धारण बिचौलिया तथा गिरोहरुले गर्दा केही समस्या आएको उनले स्पष्ट पारे ।

समग्र कृषि क्षेत्रमा अहिले प्रगति भइरहेको खनालले सुनाए । उनले भने, ‘किसानहरुलाई आवश्यक पर्ने मलको पनि सरकारले व्यवस्था गरेको छ । मलमा हामीले अनुदान दिएका छौं । अहिले हामीलाई ६ लाख मेट्रिक टन चाहिन्छ । हामीले प्रति केजी ६७ प्रतिशत अनुदान दिएका छौं ।’

उखु किसानका समस्या पनि आफूहरुले समाधान गरेको मन्त्री खनालले दाबी गरे । उनले भने, ‘अहिले पनि हामीलाई चिनी अपुग छ । भारतमा ११ जातका उखु रहेको तर नेपालमा उखुको प्रकार रैथानेमात्रै रहेको उनले सुनाए । खनालले भने, ‘अहिले देखिएको उखु किसानको समस्या हामीले समाधान गरेका छौं। मिल मालिक र उखु किसानलाई राखेर छलफल गरेका थियौं । किसान मर्कामा पनुहुन्न। भ्याट अनुदानको समस्या आएको थियो, त्यो पनि हल भैसक्यो ।’

Advertisement

Advertisement

Advertisement