अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला भृकुटीमण्डपमा सुरु, प्राङ्गारिक उत्पादनलाई प्रोत्साहन

Advertisement

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले देशभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार व्यवस्थापन गर्ने उद्देश्यले ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेस्रो प्राङ्गारिक कृषि मेला’ सुरु गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको यो मेला पाँच दिनसम्म चल्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलाको उद्घाटन गरिन् । महासंघले हरेक बर्ष आयोजना गर्दै आएको यो मेला १५औं हो । मेलामा देशभरका साना तथा मझौता उद्योगीदेखि विदेशबाट समेत सहभागिता हुने गर्दछ । यसअघिको मेलामा प्रविधिलाई जोड दिइएकोमा यस पटक प्राङ्गारिक उत्पादनलाई प्रोत्साहन गर्न खोजिएको छ ।

मेलाको उद्घाटनमा बोल्दै महासंघका अध्यक्ष श्याम गिरीले देशले दैनिक उपभोग्य सामानहरु पनि विदेशबाट आयात भइरहेको र निर्यातयोग्य वस्तुहरुसमेत उत्पादन गरेर निर्यात गर्न नसक्दा मुलुकले वार्षिक १२ खर्वभन्दा बढिको व्यापार घाटा व्यहोर्नुपरेको बताए ।



उनले ग्रामीण भेगमा ४० देखि ५५ प्रतिशत तथा शहरी भेगमा १५ देखि २५ प्रतिशत मात्रै स्वदेशी उत्पादनको उपयोग हुने गरेको भन्दै विदेशी उत्पादनहरु बढी रुचाउने प्रवृत्ति बढ्दै गएकाले आयात बढेको बताए ।

गिरिले मुलुक प्राकृतिक स्रोत साधनले भरिपूर्ण रहे पनि युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य हुँदै आएको सुनाउँदै कृषिको औद्योगिकरण, पर्यटनको सम्भावनाको उपयोग, साना जलविद्युतहरुको विकास, गैरकाष्ठजन्य वनपैदावर र खनिजमा आधारित उद्योग र तुलनात्मक लाभका क्षेत्रमा स्थापना गरी लघु तथा घरेलु उद्योगमार्फत उनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने बताए ।



प्राकृतिक स्रोतले भरिपूर्ण देशमा उद्योगहरुको स्तरोन्नती गर्न र समृद्धिको अभियान सञ्चालन गर्नका लागि पालिका तहमा साना तथा घरेलु उद्योगहरुको स्थापना गर्नुपर्ने भन्दै उनले उनीहरुमा पूँजीको पहुँचको लागि सरकार र राष्ट्र बैंकबाट सहुलियत कर्जा दिने व्यवस्था हुनुपर्ने बताए ।

काठमाडौं महानगरपालिकाका कार्यवहाक प्रमुख हरिप्रभा खड्गीले साना लगानीका घरेलु उद्योगको विकासमा सरकारले ध्यान पुर्याउन आवश्यक रहेको बताइन । यस्ता उद्योगबाट उत्पादित वस्तुलाई बजारको पहुँच पुग्यो भने नागरिकको क्षमतामा वृद्धि हुने र यसले गरिवी हटाउन सहयोग पुग्ने उनले बताइन ।



खड्गीले स्वदेशी उद्योग व्यवसायको समुचित विकास हुने यस्तो मेलामा नगरपालिकाले पहिलेदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताइन् । कामपाले स्थानीय तहमा यस विषयमा सहकार्य गर्ने नीति तय गरेको बताउँदै उनले स्वदेशी उत्पादनलाई औद्योगिकमैत्री बनाउने नीति निर्माण गर्न सरकारसँग आग्रह गरिन् ।

अर्गानिक एसोसियशन अफ नेपालका अध्यक्ष दीपकप्रकाश बास्कोटाले नेपालमा अर्गानिक वस्तुहरु उत्पादन गर्न सकियो भने बाह्य मुलुकमा बजारको ठूलो संभावना रहेको बताउँदै भने, ‘राज्यले ठूला उद्योगहरुको तुलनामा साना तथा घरेलु उद्योगको आँकलन गर्न सकेको छैन । विदेशी लगानीकर्ता मात्रै खोज्दै हिंडेको छ । सहकारी संस्थाहरुलाई परिचालन गर्ने हो भने अबौं रुपियाँ बजेट निकाल्न सकिन्छ । राज्यले यो पुँजीलाई लगानी गर्न सकेको छैन ।’



मेलामा २५० वटा स्टल रहेका छन् । जसमा चीन, भारत, बंगलादेशका गरी विदेशी ४५ वटा स्टल रहेका छन् । मेलामा चार लाख ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

Advertisement

Advertisement

Advertisement