विमानस्थललाई बक्यौता बुझाएपछि आजबाट सौर्य एयरलाइन्सले उड्न अनुमति पायो

Advertisement

काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले शुक्रबारदेखि पुनः उडान शुरु गरेको छ । विमानस्थलको बक्यौता नबुझाएपछि झण्डै तीन महीना ग्राउण्डेड भएको उक्त एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा शुल्कवापत रु ५० लाख भुक्तानी गरेपछि पुनः उडान अनुमति पाएको हो ।

सौर्यले काठमाडौँबाट पहिलो उडान भैरहवा भरेको थियो । विराटनगरलगायत अन्य गन्तब्यमा पनि उडान भरेको विमानस्थलले जनाएको छ । एयरलाइन्सले विमानस्थललाई गत मङ्गलबार पहिलो चरणको किस्तावापत रु ५० लाख तिरेको थियो । बाँकी रकम एक महीनाभित्र तिरिसक्ने कम्पनीका प्रवक्ता मुकेश खनालले जानकारी दिए ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार सो कम्पनीले विमानस्थललाई जरिवानासहित रु चार करोड बक्यौता रकम तिर्नुपर्नेछ । दुई महीनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले बचन दिएको उनले बताए ।

नयाँ व्यवस्थापनका साथ उडान सुरु गरेको सौर्यले शनिबारदेखि नियमित तीन स्थानमा उडान सुरु गर्नेछ । यो कम्पनीसँग हाल दुई बम्बार्डिएर जहाज छन् । सौर्यले अबको ६ महीनाभित्र तीन एटिआर जहाज भित्र्याउने तयारी गरेको बजार व्यवस्थापक प्रमुख खनालले जानकारी दिए । हाल विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान भर्दै आएको सौर्यले नयाँ जहाजबाट पोखरा, सिमरा, भरतपुर, जनकपुर तथा राजविराजका लागि उडान भर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement