सौर्य एयरलाइन्सले पुनः उडान शुरु गर्यो

Advertisement

काठमाडौँ । सौर्य एयरलाइन्सले पुनः उडान शुरु गरेको छ । विमानस्थलको बक्यौता नबुझाएपछि तीन महिना ग्राउण्डेड भएको सो एयरलाईन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा शुल्कवापत ५० लाख रुपियाँ भुक्तानी गरेपछि पुनः उडान शुरु गर्ने अनुमति पाएको हो ।

विराटनगरलगायत अन्य गन्तब्यमा पनि उडान भरेको विमानस्थलले जनाएको छ । एयरलाइन्सले विमानस्थललाई गत मङ्गलबार पहिलो चरणको किस्तावापत ५० लाख रुपियाँ तिरेको थियो ।

कम्पनीले विमानस्थललाई जरिवानासहित चार करोड बक्यौता रकम तिर्नुपर्नेछ । दुई महीनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले बचन दिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

नयाँ व्यवस्थापनका साथ उडान सुरु गरेको सौर्यले शनिबारदेखि नियमित तीन स्थानमा उडान सुरु गर्दैछ । यो कम्पनीसँग हाल दुई बम्बार्डिएर जहाज छन् । सौर्यले अबको ६ महिनाभित्र तीन एटिआर जहाज भित्र्याउने तयारी गरेको बजार व्यवस्थापक प्रमुख खनालले जानकारी दिए ।

एयरलाइन्सले हाल विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान भर्दै आएको सौर्यले नयाँ जहाजबाट पोखरा, सिमरा, भरतपुर, जनकपुर तथा राजविराजका लागि उडान भर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement