करको दायरा बढ्दै, थप एक लाख ६३ हजार करदाता थपिए

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म थप एक लाख ६३ हजार सात सय १० करदाता करको दायरामा आएका छन्। अर्थ मन्त्रालयका अनुसार कुल एक लाख ३२ हजार २१ आयकरतर्फ नयाँ दर्ता भएका छन्।

मूल्य अभिवृद्धि कर (भ्याट)मा २० हजार ७४ नयाँ करदाता थपिएका छन् भने अन्तःशुल्कतर्फ ११ हजार ६ सय १५ करदाता करको दायरामा आएका छन्। अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षाअनुसार स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या १९ लाख पुगेको छ। भ्याटमा दर्ता हुनेको संख्या १६ हजार पाँच सय ४९ पुगेको छ भने अन्तःशुल्कमा दर्ता हुनेको संख्या दुई लाख १२ हजार नौ सय ६५ पुगेको छ।

करको दायरामा गरिएको विस्तारका कारण संख्यामा उल्लेख्य वृद्धि भएको हो। यस्तै, एक करोडभन्दा बढीको सवारी साधन खरिद गर्दा खरिदकर्ताले कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था छ। कर कानुनलाई एकीकृत गरी सरल बनाउन आन्तरिक राजस्व विभागबाट एकीकृत कर संहिताको मस्यौदा अन्तिम चरणमा रहेको समीक्षामा उल्लेख छ। करदाताको कर सहभागिता लागत र कर प्रशासनको कर संकलन लागत घटाउने उद्देश्यले गत असोज १ गतेदेखि आन्तरिक राजस्व विभाग कार्यालयमा एक लाखसम्मको राजस्व विद्युतीय माध्यमबाट दाखिला गर्न सकिने गरी विद्युतीय प्रणाली कार्यान्वयनमा ल्याइएको छ।

मन्त्रालयका अनुसार चालु आवको ६ महिनामा चार खर्ब दुई अर्ब ४५ करोड ७६ लाख राजस्व संकलन भएको छ। यो कूल अर्धवार्षिक लक्ष्यको ९३.७ प्रतिशत तथा वार्षिक लक्ष्यको ४२।६ प्रतिशत हो। सरकारले यो वर्ष नौ खर्ब ४५ अर्ब ५५ करोड ८० लाख राजस्व संलन गर्ने लक्ष्य राखेको छ। संघीय सरकारको बजेटका लागि आठ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख तथा राजस्व बाँडफाँटमार्फत प्रदेश र स्थानीय तहलाई एक खर्ब १४ अर्ब २४ करोड राजस्व हस्तान्तरण गर्ने लक्ष्य छ।

Advertisement

Advertisement

Advertisement