यसअघि नै सडक बढार्न असफल भएका 'डेलेभो'का ब्रुमर काठमाडौं महानगरपालिकाले फेरि भित्रायो

Advertisement

काठमाडौं । राजधानी काठमाडौंका सडकहरु बढार्न अनुपयुक्त रहेको प्रयोगबाट पुष्टी भइसकेका डेलेभो ब्राण्डका इटालियन ब्रुमरहरु नै फेरि काठमाडौं महानगरपालिकाले भित्राएको छ । धेरै धुलो हुने काठमाडौंका सडकहरुलाई डेलेभोका ब्रुमरहरु काम नलाग्ने यसअघि नै पुष्टी भइसकेको थियो ।

सडक विभागले उपलब्ध गराएर काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिकाले केही समय सञ्चालन गरेका इटालियन ब्रमरहरु चलाउन नपाउँदै पटक पटक प्राविधिक समस्या आउने, तल बढारेको धुलो माथि फालेर बाताबरण थप प्रदुषित बनाउने र स्पियर पार्ट तथा मर्मत गर्ने प्राविधिक पनि सहज उपलब्ध नहुँदा महानगरपालिकालाई ठूलो आर्थिक भार पर्ने देखिएको थियो ।

ठूलो रंगशाला, सपिङ मल, एयरपोर्टमा प्रयोग हुने गरेका डेलेभोका ब्रुमरहरु काठमाडौंका सडकहरुलाई काम लाग्दैन, अर्को ल्याउनुपर्छ भन्दा पनि कमिशनको लोभमा मेयर विद्यासुन्दर शाक्यले सोही ब्राण्डको ब्रुमर खरिद गराएका काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले बताउँदै आएका छन् ।

यस्ता ब्रुमरहरुले धेरै धुलो हुने दक्षिण एसियाली मुलुकका सडकहरु सफा गर्न सक्दैनन् । तर मेयर शाक्यले ब्रुमर खरिदको टेण्डरमा दुई पटकसम्म डेलेभोको प्रस्ताव स्वीकृति हुन नसकेपछि उसैलाइ लक्षित गरी स्पेसिफकेशन तयार गर्न लगाएर तेस्रो पटक टेण्डर गराई अहिले सोही ब्रुमर ल्याउन सफल भएका छन् ।

अघिल्ला दुई पटकका टेण्डरमा भारत तथा चीनका ब्रुमरहरु ल्याउन प्रस्ताव गर्ने कम्पनीहरुले डेलेभोभन्दा निकै सस्तोमा काठमाडौंका बढि धुलो हुने सडकहरु सजिलै बढार्नसक्ने ब्रुमरहरु ल्याउन प्रस्ताव गरे पनि उनीहरुलाई स्वीकृति गरिएको थियो । उनीहरुले भन्सार मूल्यसहित करिव नौ करोडमा पाँच वटा ब्रुमर ल्याउन प्रस्ताव गरिएको थियो ।

जबकी डेलेभोका पाँच वटा ब्रुमरका लागि १२ करोडको प्रस्ताव स्वीकृत गर्ने भएको थियो । अर्कोतर्फ भन्सारसमेत काठमाडौं महानगरपालिकाले तिदैछ । झण्डै सत प्रतिशत भन्सारसहित डेलेभोका पाँच वटा ब्रुमरको लागत २४ करोड रुपियाँ पुगेको छ । इटालियन यी ब्रुमर अहिले बीरगञ्ज आइपुगेका छन् । भन्सार तिरेपछि काठमाडौं ल्याइने महानगरपालिकाले जनाएको छ । यी ब्रुमरहरुको स्पियर पार्टमा सहज नभएकाले र मर्मत गर्ने प्रविधिकहरु पनि नेपालमा नपाउने भएकाले इटालिबाटै मगाउनुपने बाध्यता भएकाले भोलिका लिनमा यसको सञ्चालन निकै जटिल बन्ने देखिएको छ ।

धुलैधुलोले आक्रान्त काठमाडौवासीले सडक सफा गर्न नसकेको भन्दै महानगरपालिकाप्रति आक्रोस पोख्दै आएको बेला मेयर शाक्य भने राजधानीवासीको स्वास्थ्यमा खेलवाड गर्दै कमिशनको चक्करमा लागेका छन् । यी ब्रुमर वल्ड वाइड ट्रेडिङ प्रालिले भित्र्याएको हो । डेलेभोका ब्रुमरहरुको टेण्डर स्वीकृत गर्ने बेलामा पनि काठमाडौं महानगरपालिकाका चार जना सचिवहरुले टेण्डर बदलियतपूर्ण र गैरकानुनी रहेको भन्दै सही गर्न मानेका थिएनन् ।



वल्ड वाइड ट्रेडिङ प्रालिले तीन वर्षसम्म चालकसहित संचालन र मर्मत गर्ने भनिएको छ । हाल नेपाल आएका चार बु्रमरका लागि कम्पनीले नै चालकको व्यवस्था गरेपछि ब्रुमर संचालनमा समस्या नहुने मेयर शाक्यको जिकिर छ ।

चैतबाट चलाउने भनिएका यी ब्रुमरमा कतिपय सामानहरु फिट गर्न बाँकी रहेको र फिट गरेर चलाइने जनाइएको छ । काठमाडौं महानगरपालिकासँग यसअघि सार्क सम्मेलनमा किनिएका अरु चारवटा चिनियाँ ब्रुमर छन । ती सबै केही समय पनि नचली कामै नलाग्ने गरी थन्किएका छन् । श्रीलंका, बंगलादेश र भारतमा बर्षौदेखि सफलरुपमा सञ्चालन हुँदै आएका भारतीय ब्रुमरहरु कम लागतमा ल्याउन आयातकर्ताहरु तयार हुँदाहुँदै पनि फाइदा नदेखेपछि शाक्यले डेलेभो नै ल्याउन लागिपरेका थिए ।

डेलेभोका स्थानीय एजेन्टहरुले काठमाडौं महानगरपालिकासहित मुलुकभरका महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख एवं कर्मचारीहरुलाइ भेट्दै डेलेभोको स्पेसिफिकेशनअनुसार टेण्डर गर्न लबिङ गदै आएका छन् । सोही लबिङअनुसार ललितपुर, पोखरालगायतका महानगरपालिकाले पनि सोही ब्राण्डका ब्रुमरहरु खरिदका लागि प्रक्रिया अघि बढाएका छन् ।

Advertisement

Advertisement

Advertisement