साना तथा घरेलु उद्योगमा विदेशी लगानी नल्याउन महासंघको आग्रह

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका सेवा क्षेत्रमा विदेशी लगानी खुल्ला नगर्ने गरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउन सुझाव दिएको छ ।

महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र एवं पशुपालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन उद्योग, पानी प्रशोधन तथा उत्पादन र सेवा सम्बन्धी जस्तो शैक्षिक परामर्श दिने व्यवसाय एवं संस्थाहरू, ई–कमर्श, कार्गो व्यवसायलाई विदेशी लगानीका लागि खुला नगरिएको क्षेत्रमा समावेश गर्नु पर्ने सुझाव दिएको छ ।

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति माननीय विमल प्रस्ताव श्रीवास्तवलाई भेटी उक्त सुझाव दिएको हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ अहिले संसदमा विचाराधिन रहेको छ ।

भेटवार्ताका क्रममा महासंघको प्रतिनिधिमण्डलले उल्लेखित क्षेत्रहरूमा अर्बैंको स्वदेशी लगानी भएकाले विदेशी लगानी आवश्यकता नरहेको सभापति श्रीवास्तव समक्ष जानकारी गराएको ।

स्वदेशी लगानीको संरक्षण गर्नु सरकारको दायित्य पनि हुने भएकाले र यी क्षेत्रमा नेपाली उद्यमी व्यवसायीहरू सक्षम र विशेष शीप पनि भएकाले महासंघले पेश गरेका सुझावलाई नया“ ऐनमा समावेश गर्न महासंघको प्रतिनिधिमण्डलले सो अवसरमा आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement