नेपालमा गाडि उत्पादन गर्न कोरियन कम्पनीले १० अर्बभन्दा बढि लगानी गर्ने, प्रस्ताव स्वीकृत

Advertisement

काठमाडौं । एक कोरियन कम्पनीले नेपालमा गाडि उत्पादन गर्न १० अर्बभन्दा बढि लगानी गर्ने भएको छ । लगानी बोर्डको शुक्रबार बसेको बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको छ ।

दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले भेहिकल म्यानुफ्याक्चरिङ एण्ड एसेम्ब्लिङ प्लान्टका लागि १० अर्ब ५४ करोड रुपियाँ लगानीको प्रस्ताव पेश गरेकोमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बोर्ड बैठकले त्यसलाई स्वीकृत गरेको हो ।

बैठकले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवद्र्धकलाई लगानी जुटाउने समय थप गरिदिएको छ । निर्णयअनुसार उक्त आयोजनाको प्रवद्र्धक एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लागि वित्तीय व्यवस्थापन गर्न आउँदो जुन ३० सम्मको समय थप गरिएको हो । काम अघि बढाइसकेको उक्त कम्पनीले आयोजनाका लागि ऋण प्राप्त गर्ने काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

लगानी बोर्डको बैठकले आउँदो लगानी सम्मेलनमा पेश गर्न ६३ वटा आयोजनाहरुको सुची पनि स्वीकृत गरेको छ । ती आयोजनाहरुको विकास तथा कार्यान्वयन अवधारणा स्वीकृति गरी लगानी सम्मेलनमा शोकेस गर्ने निर्णय पनि गरिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले लगानी सम्मेलन नेपालमा लगानी प्रवद्र्धन गर्न महत्वपूर्ण रहेको भन्दै यसलाई अर्थपूण बनाई अधिकतम् उपलब्धि हासिल गर्न सबै निकायहरुले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए । सम्मेलनबाट निजी क्षेत्रले प्रशस्त लाभ लिने उनको विश्वास छ ।

प्रधानमन्त्री ओलीले आयोजनाहरुको लागि तोकिएको जग्गा हदबन्दीको विषयमा देखिएको समस्याहरु समाधान गर्न सम्वद्ध अधिकारीहरुलाई निर्देशन पनि दिए । उनले लगानी सम्मेलनको बेला सुरक्षा व्यवस्था थप सुदृढ बनाउन र सरसफाइ गन सम्वद्ध निकायहरुलाई निर्देशन पनि दिए ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलनको तयारीबारे जानकारी गराएका थिए । बैठकमा अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री बर्षमान पुन, बाताबरण मन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री गोकुल बास्कोटा, भूमिसुधार मन्त्री पद्यमा अर्याल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल, मुख्यसचिव लोकदर्शन रेग्मीलगायत थिए ।

Advertisement

Advertisement

Advertisement