लगानी सम्मेलनमा ३० खर्बको परियोजना प्रस्तुत गछौंः भट्टराई

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले चैत्र १५ र १६ गते हुने लगानी सम्मेलन सफल हुने दावी गरेका छन् । शनिबार रिपोर्टर्स क्लबमा भट्टराईले सरकारले लगानी सम्मेलनको लागि सम्पूर्ण तयारी गरिसकेको र सम्मेलन सफल हुने विश्वास दिलाए ।

उनले भने, ‘सरकारले प्रस्ताव गरेकोभन्दा बढि नै लगानीको प्रतिबद्धता आउने विश्वास छ । अहिले ३० खर्बको परियोजनाहरु प्रस्तुत गरिएको छ । हेरौं, त्यो भन्दा पनि बढि नै प्रतिबद्धता आउनेछ ।’ भट्टराईले मुलुकले अहिले नयाँ दिशा पक्रिएको बताए ।

उनले सरकारले लिएको विकास, समृद्धि र सुशासनको लक्ष्य प्राप्त हुने विश्वास दिलाए । भट्टराईले भने, ‘विकास त सबै मुलुकको चाहना हुन्छ, तर सबैले यो हाँसिल गर्न सक्दैनन् । हाम्रो देशमा अहिले राजनीतिक स्थायित्व हाँसिल भएको छ, अब देशलाई आर्थिक समृद्धिको दिशातर्फ डोर्याउनुपर्छ । सरकारले प्रयत्न गरिरहेको छ ।’

उनले अहिले राजनीतिक हिसाबले पनि लगानी सम्मेलन अत्यन्तै सान्दर्भिक रहेको जिकिर गरे । भट्टराईले भने, ‘मुलुकलाई विकास र समृद्धिको दिशामा अघि बढाउने सरकारको लक्ष्य रहेको बेलामा यो लगानी सम्मेलन आवश्यक थियो ।’ नेपाल पुँजी, ज्ञान तथा प्रविधिमा आत्मनिर्भर नभएकोले विदेशी लगानी, पुँजी र ज्ञान स्वदेशमा भित्र्याउन जरुरी रहेको उनको भनाई छ ।

उनले मुलुकको आवश्यकता र औचित्यअनुसार नै सरकारले विदेशी लगानी भित्र्याउन प्रयत्न गरिरहेको जिकिर गरे । भट्टराईले भने, ‘हामी लगानी सम्मेलनको अन्तिम अवस्थामा छौं । तयारी पूरा भइसकेको छ । अहिलेसम्म करिब चार सयको हाराहारीमा सहभागी जनाउने निश्चित् भइसकेको छ । करिब ३८ देखि ४० देशका प्रतिनिधिहरु आउनुहुन्छ ।’
सल्लाहकार भट्टराईले लगानी सम्मेलनमा फ्रान्स र म्यान्मारबाट विदेश मन्त्री नै सहभागी हुने पनि जनाए । उनले थपे, ‘यो सकारात्मक सन्देश हो । अरु देशहरुबाट पनि प्रोमिनेन्ट पर्सानालिटीहरु पनि आउने कुरा छ ।’ मुलुकमा लगानी भित्र्याउने तयारी भइरहेको बेलामा कानुन र प्रक्रियालाई सरल र सहज बनाउनुपर्ने कुरामा सरकारले ध्यान दिने पनि उनले विश्वास दिलाए ।

भट्टराइले सम्मेलनमा आउने केहीले सुरुमै एमओयू गर्नेदेखि लिएर एक तह माथि बढेर एग्रिमेन्ट गर्नेबारे पनि कुरा भइरहेको सुनाए । उनले भने, ‘सरकारले मुलुकको विकास र समृद्धिको लागि स्वदेशी तथा विदेशी लगानीकर्ता दुवैलाई प्रोत्साहन गर्छ । हामी त्यहीअनुरुप अघि बढिरहेका छौं ।’

भट्टराईले सर्भिस डेलिभरीमा नेपालको ईफिसेन्सी कम भएकोले यसलाई अब बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘भारतको व्यूरोक्रेसीको क्षमता धेरै राम्रो छ, चिनियाँको त झनै राम्रो छ, हाम्रो व्यूरोक्रेसीले पनि सिक्नुपर्छ ।’

फरक प्रसंगमा भट्टराइले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाविरुद्ध सरकारले लगाएको प्रतिबन्ध जायज भएको प्रतिक्रिया दिए । उनले भने, ‘विप्लव समूहले शान्तिपूर्ण आन्दोलन तथा विरोध गरेको भए सरकारले कुनै अवरोध गर्दैन र रहेनपनि ।’ संविधान र कानुनविपरित क्रियाकलाप गर्ने छुट कसैलाई पनि नभएको भट्टराइको भनाई छ ।

भट्टराईले भने, ‘विप्लवजीहरुले गरेका गतिविधिहरु राजनीतिक गतिविधि होईनन् । सरकारले आफ्नो दायित्व पूरा गरेको छ । संविधानविरोधी गतिविधि नियन्त्रणको लागि सरकारले कदम चालेको हो ।’

Advertisement

Advertisement

Advertisement