नवीकरण नगरी सञ्चालन गरेका पोखराका दुई प्याराग्लाइडिङ कम्पनी बन्द

Advertisement

पोखरा । दर्ता तथा नवीकरण हुन अटेरी गरेका प्याराग्लाइडिङ कम्पनीलाई पोखरा महानगरपालिकाले सोमबारदेखि उडानमा रोक लगाएको छ । सोमबारसम्म महानगरमा दर्ता नभएका गोल्डेन हेभन प्याराग्लाइडिङ र एड्भान्स प्याराग्लाइडिङलाई रोक लगाइएको हो ।

महानगरले व्यवसाय स्वीकृति लिन फागुन २२ गतेसम्मका लागि म्याद तोकेको थियो । थोरै कम्पनीलेमात्रै व्यवसाय दर्ता गरेको भन्दै महानगले पुन २६ गतेसम्म फेरि समय दिएको थियो । उक्त समयावधिमा जम्मा १० वटा कम्पनीले मात्रै दर्ता र नवीकरण गरेका थिए । त्यसपश्चात महानगरमै उपस्थित भएर व्यवसायीले पुन समय थप्न माग गरेपछि फागुन २६ गतेसम्मको समय सम्मका लागि समय दिएको थियो । उक्त समयमावधिमा केत अधिकांश प्याराग्लाइडिङ कम्पनीले अटेरी गरे ।

महानगरमा हालसम्म ५६ वटा कम्पनी प्याराग्लाइडिङ उडाउन स्वीकृति पाएका छन् । त्यसमध्ये ४० वटा कम्पनीमात्रै सक्रिय छन् । प्याराग्लाइडिङ कम्पनीबाट महानगरले प्रति कम्पनी दर्ता तथा नवीकरणको ८६ हजार र प्रदेश सरकारले १ लाख रुपियाँ लिनेछ । महानगरले प्रति प्याराग्लाइडिङ कम्पनीबाट वार्षिक २५ हजार र प्रदेश सरकारले वार्षिक १ लाख पर्यटन कर उठाउने नियम बनाएको छ ।

महानगरले पहिलेदेखि नै २५ हजार रुपियाँ उठाउँदै आए पनि ०७५ मा ५० हजार रुपियाँ कर तोकेको थियो । ‘त्यसवर्ष हामीले ५० हजार तोक्यौं । पछि प्रदेशले पनि उठाउन थालेपछि फेरि २५ झारेका हौं,’ प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले भने । कास्कीमा सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र डिकीडाँडाबाट प्याराग्लाइडिङ उडाउन अनुमति छ ।

Advertisement

Advertisement

Advertisement