‘लगानी सम्मेलन आवश्यक हो, तर सरकारले जति तयारी र छलफल गर्नुपर्ने हो, गरेन्’

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहे पनि सरकारले यसको तयारीको विषयमा पर्याप्त छलफल नगरेको बताएका छन् ।

रिपोर्टर्स क्लवमा बिहीबार उनले भने, ‘मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक छ, त्यसैले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य छ, तर यसको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो त्यो भएको छैन् ।’

पटक पटक अर्थमन्त्रीसमेत भएका महतले विदेशी लगानी भित्र्याउनुपर्छ भनेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै सुरुवात गरेको सुनाए । उनले भने, ‘गिरिजाबाबुले विदेशी लगानी ल्याउनकै लागि अभियान सुरु गर्नुभयो, उहाँले उदार आर्थिक नीति ल्याउनुभयो । बास्तवमा गिरिजाबाबुले आधुनिक नेपालका लागि ठूलो काम गर्नुभएको छ ।’

उनले वामपन्थी सरकारले पनि गिरिजाबाबुले अघि सारेको कुरालाई स्वीकार गरेर लगानी सम्मेलन गर्न लागेकोमा खुशी व्यक्त गरे । महतले थपे, ‘यो त खुशीको कुरा हो, सम्मेलन सफल होस भन्ने हाम्रो शुभकामना छ, यो अति आवश्यक थियो । विदेशी लगानी नबढाई मुलुक विकास हुन सक्दैन् ।’

विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकत्ताहरु पूरा गर्नुपर्ने उनको सुझाव थियो । महतले भने, ‘अहिले केही नयाँ कानुनहरु पारित भएका छन्, तर विदेशी लगानीको लागि नेगेटिभ लिष्ट पहिलेभन्दा लामो बनाईएको भनिएको छ ।’

उनले औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको सुनाए । महतले भने, ‘उद्योग–धन्दा, जलस्रोत तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्न जरुरी छ ।’ लगानीको लागि ऐन, कानुनहरु बनाएर मात्रै नहुने उनको धारणा छ । उनले थपे, ‘यी सबै कुराहरु अब व्यवहारिक रुपमा लागु गर्नुपर्छ । मिठा र राम्रा कुरा गरेर हुँदैन् ।’

महतले विदेशी लगानी भित्र्याउनको लागि पहिले नेपालका सडकहरु, विमानस्थललगायत पूर्वाधारको विकास र स्तरोन्नती गर्नुपर्ने पनि सुझाए । उनले भने, ‘तर, हाम्रो सरकार अदक्ष छ, कुनै पनि कुरामा दक्षता देखाएन् ।’

त्यस्तै, महतले लगानी सम्मेलनको लागि प्रशासनिक तथा व्यवस्थापकीय पाटो पनि चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘प्रशासनिक व्यवस्थापन गतिलो बनाउनुपर्छ । अहिले पनि धेरै झन्झटिलो छ ।’ एकद्धार प्रणाली गरिएको भनेर प्रधानमन्त्री केपी ओलीले दाबी गरेपनि कुनै काम गर्दा दर्जनौं कार्यालयहरु धाउनुपर्ने बाध्यता विद्यमान रहेको कुरा उद्योगी तथा व्यवसायीहरुले गुनासो गर्ने गरेको महतले सुनाए ।

उनले पाईला–पाईलामा भ्रष्टाचार व्याप्त रहेको सुनाए । नेता महतले भने, ‘सरकारले पहिलो कुरा सुशासन कायम गर्नुपर्छ, अहिले पनि सरकारले दिने सुविधा लिनै मुश्किल छ । कानून बनाएर मात्रै हुँदैन्, कार्यान्वयनमा जानुपर्छ ।’

तीन वर्ष पहिले काठमाडौंमा भएको लगानी सम्मेलनको स्मरण गराउँदै महतले उक्त सम्मेलनबाट आएको प्रतिबद्धताअनुसार लगानी नआएकोमा अब सरकारले गम्भीर समीक्षा गर्नुपर्ने बताए । उनले भने, ‘के÷कति कारणले प्रतिबद्धता गरिएअनुसार लगानी आएन ? यसबारेमा समीक्षा गर्नुपर्छ । त्यतिबेला मैले पनि ‘कि–नोट स्पिच’ दिएको थिएँ, १४ खर्बको प्रतिबद्धता आएको थियो । तर, अहिलेसम्म त्यो प्रतिबद्धताको एक फ्याक्शन पनि लगानी आएको छैन् ।’

महतले प्रतिबद्धता गरिएको लगानी किन आएन ? भन्ने विषयमा छलफल तथा छानबिन हुनुपर्नेमा पनि जोड दिए । उनले भने, ‘हामीले यो पक्षलाई पनि विशेष ध्यान दिन जरुरी छ ।’

महतले विदेशी लगानी नेपालको लागि धेरै हिसावले आवश्यक रहेको टिप्पणी गरे । उनले भने, ‘भारत र चीन ठूलो बजार छन्, साफ्टाअन्तर्गत फ्रि–ट्रेड एग्रिमेन्ट गरिएको छ, त्यसैले लगानी सम्मेलन गर्ने सरकारको चाहना ठीक छ । यो सकारात्मक हो । तर, यसको लागि मुलुकको सुशासन सुधार गर्नुपर्छ । भ्रष्टाचारलाई समाप्त पार्नुपर्छ ।’

त्यस्तै, उनले स्वदेशी लगानीकर्तालाई पनि चित्त बुझाउनुपर्ने र भएका लगानीकर्ताहरुको जायज गुनासाहरु सरकारले सुन्नुपर्ने सुझाव दिए ।

Advertisement

Advertisement

Advertisement