विप्लवलाई सरकारले भन्यो– फेरि आग्रह गछौं वार्तामा आऊ, नआए आफै सकिन्छौ

Advertisement

काठमाडौं । मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले केशव भटटराईलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्ति गर्नेलगायतका २१ वटा निर्णयहरु गरेको छ । बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बोर्डको अध्यक्षमा भट्टराई नियुक्त भएको जानकारी दिएका हुन् ।

यसअघि अध्यक्ष रहेकी निकिता पौडेलले राजीनामा दिएर टेलिभिजनकर्मी रवि लामिछानेसँग विहे गरेकी थिइन् । त्यस्तै, बैठकले नेपाल–भारत व्यापार र पारवाहन सम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’को विषयमा छलफल गर्न सहसचिव रविशंकर सैजुको संयोजकत्वमा १० सदस्यसीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

बैठकले जलस्रोतको उपयोग, व्यवस्थापन र नियमन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनेलगायतका निर्णयहरु गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले गोलाबारुद बिसाएर वार्तामा आउन भूमिगत नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आग्रह गरे । उनले हतियारले कुनै पनि समस्या समाधान नदिने भन्दै वार्ताबाट निकास खोज्न आग्रह गरेका हुन् ।

वार्तामा आउन पटक पटक सरकारले आग्रह गरेको स्मरण गराउँदै बास्कोटाले यो मौका सधैं नआउने बताए । उनले सरकार वार्ताबाटै समस्या समाधान गर्न तयार रहेको बताए । उनले आफूहरुले कसैलाई सिध्याउने कुरा नगरेको तर विप्लव माओवादी हतियार बिसाएर बार्तामा आउनु जरुरी भने रहेको बताए ।

मन्त्री बास्कोटाले संविधानमाथि प्रश्न उठाउन नपाइने बताउँदै लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाएर हिंसा मच्चाउन छुट दिन नसकिने बताए । उनले वार्तामा नआए चन्द समूह आफैं सकिने बताए । बास्कोटाले गलत, असम्भव असान्दर्भिक विचार लिएर कोही विजयी नहुने भन्दै राजनीतिक, दार्शननिक र वैचारिक हिसाबले पनि समाजमा अस्वीकार गर्ने विषय छोड्दा विप्लव समूहका साथीहरु सानो नहुने बताए ।

मन्त्री बास्कोटाले देशलाई फेरि द्वन्द्वमा फर्काउने नहुने भन्दै कसैको राजनीतिनक अभीष्ट पूरा गर्न निर्दोष व्यक्तिको हत्या तथा गैरकानुनी चन्दा असूली अन्त्य हुनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement