‘लयर्स एकेडेमिक एक्ट’ ल्याउँछुः श्रेष्ठ, ‘जुडिसिएल ट्रेन्ड एनालाइसिस’को सुरूवात गर्छुः पोखरेल

Advertisement

काठमाडौं । नेपाल बार एसोसिएशनको नेतृत्वको लागि अध्यक्षका प्रत्यासीद्धय चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेल दुवैले आ–आफ्नो जीतको दाबी गरेका छन् । नेकपाका तर्फबाट श्रेष्ठ नेतृत्वको प्यानल चुनावी मैदानमा छ भने कांग्रेसको तर्फबाट पोखरेल नेतृत्वको प्यानल चुनावी मैदानमा छ ।

निर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लबमा अध्यक्षका प्रत्यासीद्धय श्रेष्ठ र पोखरेलले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरे । प्रगतिशील, पेशागत तथा समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका प्रत्यासी श्रेष्ठले आफूहरुले ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हाम्रो सरोकारः स्वतन्त्र, सक्षम, निष्पक्ष र भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि व्यवसायिक बार’ भन्ने मूल नारा दिएको सुनाए ।

उनले न्यायापालिकामा देखिएको विकृति, विसंगति तथा भ्रष्टाचारलाई नियन्त्रण गर्ने सुनाए । विधिको शासन, मानवअधिकारको रक्षा र पेशागत हकहितको लागि आफूले काम गर्ने श्रेष्ठको दावी छ ।

स्वतन्त्र न्यायपालिका बनाउनको लागि बारले सहकार्य र खबरदारीको दुवै भूमिका निर्वाह गर्ने पनि उनले सुनाए । त्यस्तै, न्यायपालिकालाई स्तरीय बनाउनको लागि न्याय परिषदमार्फत मूल्यांकन गर्ने र डाटा बेशमा लैजाने श्रेष्ठले आफ्नो योजना सुनाए ।

कानुन व्यवसायीहरुको पेशागत हकहित र व्यवसायिक सुरक्षाको लागि पनि आफूले गम्भिर पहलकदमी लिने सुनाउँदै श्रेष्ठले ‘लयर्स एकेडेमिक एक्ट’ ल्याउने जनाए । उनले भने, ‘व्यवसायमा आउने नवोदित साथीहरुको पक्षमा हामी र्छौं । व्यवसायमा देखिएका सबैखाले समस्याको समाधानको लागि म सक्रियताका साथ लागिपर्छु ।’

त्यस्तै उनले कानून व्यवसायीहरुको मर्यादालाई उच्च राख्नको लागि सरकारसँग पहल गर्ने सुनाए । उनले थपे, ‘विगत तीन वर्षको अवधिमा बारले विशेष पहल गर्न सकेको छैन् । त्यसैले व्यवसायिक बार बनाउन र नवोदितदेखि बरिष्ठ साथीहरुको हकहितको सुरक्षाको लागि हाम्रो टीम लागिपर्छ ।’

उनले राष्ट्रिय सरोकारको विषयमा पनि आफू नेतृत्वको टीमले सशक्त भूमिका निर्वाह गर्ने सुनाए । श्रेष्ठले भने, ‘हाम्रो टीममा ईमानदार साथीहरु हुनुहुन्छ ।’ उनले काम गर्नसक्ने टिम भएकोले आफ्नो प्यालन विजयी हुने स्पष्ट पारे ।

श्रेष्ठले थपे, ‘न्यायपालिकालाई स्वतन्त्र, निश्पक्ष र मर्यादित राख्नको लागि काम गर्छौं । मेरो ४३ वर्षे सेवा अनुभव छ । मैले अहिलेसम्म प्रलोभनमा परेर काम गरेको छैन् । बार भनेको स्थायी प्रतिपक्षी हो, त्यसैले यसको भूमिकामा खरो उत्रिन्छौं । म प्रधानमन्त्रीसँग फेस–टु–फेश कुरा राख्न सक्छु ।’

त्यस्तै बृहत्त लोकतान्त्रिक, समावेशी तथा पेशागत समूहबाट अध्यक्षका प्रत्यासी सुनिल पोखरेलले आफ्नो प्यानलले ‘स्वतन्त्र, सक्षम, भ्रष्टाचारमुक्त र निर्भिक न्यायपालिकाको स्थापनाका लागि बृहत लोकतान्त्रिक प्यानलको जित’ भन्ने नारा तय गरेको सुनाए ।

उनले यसपटकको निर्वाचन नेतृत्वकेन्द्रित नभएर नीति केन्द्रित हुने बताए । न्यायापालिकामा रहेका विकृति सुधार्नु नै आफ्नो प्रमुख लक्ष्य भएको पोखरेलको भनाई छ । उनले आफूले बारको भिजन र मिशनलाई अघि बढाउने पनि प्रतिबद्धता जनाए । पोखरेलले न्यायालयमा निर्देशित र नियन्त्रित शासन व्यवस्था हटाउन, स्वतन्त्र न्यायापालिकाको रक्षा गर्न, कानून व्यवसायीको मर्यादाको स्तरोन्नति तथा न्यायपालिकालाई विकृतिविहीन बनाउन ‘जुडिसिएल ट्रेन्ड एनालाइसिस’को शुरूआत गर्न आफूले उम्मेदवारी दिएको र जीत सुनिश्चित रहेको दाबी गरे ।

आफूले देशभरिका कानून व्यवसायीहरुको हकहित संरक्षण गर्ने र मर्यादाक्रम कायम गर्ने पनि पोखरेलले सुनाए । त्यस्तै, बार काउन्सिललाई प्रभावकारी बनाउने र बारलाई पारदर्शी बनाउने पनि पोखरेलले योजना सुनाए ।

पेशामा आउन लागेका नवोदित व्यवसायी साथीहरुलाई तपाईहरुको लागि आशाको केन्द्रको रुपमा बार छ है भनेर देखाउने पनि उनले सुनाए । बार र अदालतलाई रिफर्म गर्ने एजेण्डासहित आफू चूनावी मैदानमा होमिएको पोखरेलको भनाई छ । उनले नेतृत्वको लागि स्वस्थ प्रतिष्पर्धा हुने र आफूहरुको विचार पनि धेरै मिलेको जिकिर गरे ।

Advertisement

Advertisement

Advertisement