सनराइज बैंकले चैत २० गतेदेखि एक अर्बको ऋणपत्र बिक्रीमा ल्याउने

Advertisement

काठमाडौं । सनराइज बैंकले यहि चैत २० गतेदेखि एक अर्ब रुपियाँ बराबरको ’१० प्रतिशत सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र बिक्रीमा ल्याउने भएको छ। बैंकले प्रतियुनिट एक हजार रुपियाँ अंकित दरमा दश लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको हो।

पाँच वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ । बैंकले जारी गर्ने १० लाख युनिट मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि जारी गरिने तथा बाँकी ६० प्रतिशत अर्थात ६ लाख युनिट भने व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गरिने बैंकले जनाएको छ ।

ऋणपत्र बिक्री गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । इच्छुक लगानीकर्ताले सि आश्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्रमा छिटोमा चैत २५ गते र उक्त अवधिमा बिक्री नभएको खण्डमा बैशाख १९ गतेसम्म आवेदन गर्न सक्नेछन् । यसका अलवा मेरो शेयरबाट पनि ऋणपत्र भर्न सकिनेछ ।

आवेदन दिँदा न्यूनतम २५ कित्ता युनिटको एक हजार रुपियाँ दरले २५ हजार रुपियाँदेखि ४ लाख कित्ता युनिट बराबरको ४० करोड रुपियाँसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । यसअघि कूल निष्काशनको २० प्रतिशत ऋणपत्र मात्र सर्वसाधारणमा बिक्रीमा आउने गरेकोमा मुद्रा तथा पूँजी बजार कार्यदलले दिएको सुझावका आधारमा धितोपत्र बोर्डले हाल ४० प्रतिशत पुर्याएको हो ।

हाल एनएमबि बैंकको १२ लाख युनिट र ग्लोबल आइएमई बैंकको ६ लाख युनिट ऋणपत्र पनि बिक्रीमा रहेका छन् । यस्तै नेपाल बंगलादेश बैंकले २ अर्ब रुपियाँ बराबरको २० लाख युनिट र हिमालयन बैंकले ३ अर्ब रुपियाँ बराबरको ३० लाख युनिट ऋणपत्र बिक्री प्रकृया अगाडि बढाएका छन् । सनराइज बैंकले चैत १ गते ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

Advertisement

Advertisement

Advertisement