उपत्यकामा ब्रुमरको प्रयोगले दुई सय टन धुलो सङ्कलन

Advertisement

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बु्रमर सञ्चालन गरेको एक हप्ता पुग्नै लाग्दा सडकबाट दुई सय टन धुलो सङ्कलन गरेको छ । महानगरले गत बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो ।

गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच बु्रमर प्रयोगमा ल्याइएका हुन । हरेक दिन पाँच यन्त्रले निर्धारण गरेको रुट अनुरुपनै काम गरिरहेका जनाइएको छ । महानगरको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बु्रमरले सडक सफा गर्दा समस्या आएपछि खाल्डाखुल्डी पुर्न सडक विभागसँग आग्रह गरेको छ । खाल्डाखुल्डी नभए नियमित सहजतापूर्व काम हुने हुँदा तत्काल समस्या समाधान गरिदिन आग्रह गरेको हो ।

सडकको मुख्य स्थान न्युरोण, रत्नपार्क, जमल, कालीमाटी कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायतका स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्नका आग्रह गरेको हो । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो । महानगरसँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको थियो ।

गत असारमा गरिएको बोलपत्रका आधारमा उक्त यन्त्र ल्याइएको हो । काठमाडौँका सडकमा माटो धेरै भएकाले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा यातायात व्यवस्था विभागसँग छलफल गरिरहेको छ । कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरको जिम्मेवारीमा छन् । ती ब्रुमर १० करोड ८० लाख रुपियाँमा ल्याइएको हो ।

पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको छ । ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताको रहेका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।

खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुनधारास्थित धरहरा, दरबार हाईस्कुल, रानीपोखरी, काठमाडौं भ्यू टावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगरको वातावरण विभागले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement