आफैले कार्यक्रम आयोजना गरेर केशव बडालले लिए डेढ लाखको पुरस्कार

Advertisement

काठमाडौं । सहकारी दिवसमा आफै कार्यक्रम गरेर राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालले डेढ लाख रुपियाँको पुरस्कार लिएका छन् । महासंघसहित सहकारी मन्त्रालय, सहकारी विकास बोर्डले गरेको कार्यक्रममा बडाल आफै पुरस्कृत भएका हुन् ।

बडाल सत्तारुढ नेकपाका नेतासमेत हुन् । राजनीतिक प्रभावका आधारमा बडालले एउटा पुरस्कार काँग्रेस पक्षधर दीपक बास्कोटालाई दुई वटा एमाले पक्षधरलाई दिन लगाएको सहकारी बोर्ड स्रोतले बतायो । अर्को पुरस्कार पाउनेमा सत्तापक्षका खेम पाठक छन् । उनी केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष हुन् ।

बास्कोटाले बडालको पछि लागेर काँग्रेसको नाममा सहकारी क्षेत्रबाट लामो समयदेखि फाइदा लिँदै आएका छन् । उनले यसअघि महासंघ आफै अध्यक्ष हुँदाहुँदै बडाललाई नेतृत्व सुम्पिएर ठूलो गुन लगाएका थिए ।

सहकारी विकासका लागि सरकारले हरेक बर्ष दिने करोडौं रुपियाँ सहकारीका अगुवाहरुले विदेश भ्रमण, पुरस्कार र बैठकमा बस्ने गरेको आरोप खेपिरहेको बेला अध्यक्ष बडालले आफै आयोजक भएर प्रधानमन्त्री केपी ओलीको हातबाट पुरस्कार लिएका हुन् । सहकारी क्षेत्रमा योगदान दिएका अन्य व्यक्तिहरुलाई पुरस्कृत गर्नु स्वाभाविक भए पनि आफैले पुरस्कार लिन मिल्दैन् ।

सहकारी क्षेत्रमा भइरहेको ठगी र बिकृतिहरु हटाउने र अर्थतन्त्रमा सहकारीको योगदान बढाउन महासंघको तर्फबाट कुनै पनि योगदान गर्न नसकेका बडाल विदेश भ्रमणमा भने रेडर्क कायम गर्दै आएका छन् । उनी अध्यक्ष भएपछि दर्जनौं पटक विदेश भ्रमणमा निस्किसकेका छन् ।

सहकारी दिवसमा उत्कृष्ट सहकारी संघसंस्थाको रुपमा पुरस्कृतहरुमा राजनीतिक आस्थाका आधारमा गरिएको स्रोतको भनाई छ । त्यस्ता संस्थाहरुलाई दुई लाख रुपियाँका दरले पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था, धनुषाको साना किसान कृषि सहकारी संस्था, दोलखाको जनसचेतन साकोस, बाग्लुङको जिल्ला दुग्ध उत्पादक सहकारी संघ, बर्दियाको सिको साकोस, सुर्खेतको साना किसान कृषि सहकारी संस्था र कैलालीको नवजीवन सहकारी संस्था छन् ।

त्यस्तै, उत्कृष्ट सहकारी पुरस्कारबाट बहुउद्देश्यीय सहकारी संघ ललितपुर पुरस्कृत गरिने जनाइएको छ । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७५ बाट प्रदेश १ तर्फ झापाको शुभलक्ष्मी सहकारी संस्था चुनिएको छ । प्रदेश २ बाट सर्लाहीको मनोकामना बहुउद्देश्यीय सहकारी संसथा, प्रदेश ३ बाट ललितपुरको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, गण्डकी प्रदेशबाट बाग्लुङको आदर्श सञ्चार सहकारी संस्था, प्रदेश ५ बाट रुपन्देहीको सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था, कर्णाली प्रदेशबाट सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था रुपन्देही र कर्णाली प्रदेशबाट सुर्खेतको साना किसान कृषि सहकारी संस्था र सुदुरपश्चिम प्रदेशबाट कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कार दिइने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement