पाल्पामा कृर्षि उपज सङ्कलन केन्द्र बन्ने

Advertisement

रामपुर  । पाल्पाको रामपुरमा उत्पादन हुने तरकारीको बिक्री वितरण र व्यवस्थापनका लागि कृर्षि उपज सङ्कलन केन्द्र बन्ने भएको छ । विशेष गरी आलु तथा गोलभेँडा खेतीका लागि पकेट क्षेत्रका रुपमा रहेको रामपुर–८ बराहटारमा बन्ने कृषि उपज सङ्कलन केन्द्रको प्रदेश नं– ५ का प्रदेश सांसद युवराज खनालले शिलन्यास गरे  ।

भवनको शिलन्यास गर्दै उहाँले बजार नपाएका कृषि उपजको व्यवस्थापन र बिक्रीका लागि भवन निर्माण भएपछि सहज हुने बताए  । उनले आधुनिक र व्यावसायिकतातर्फ ध्यान दिएर खेती गर्न कृषकलाई आग्रह गरे  ।

कार्यक्रममा सांसद दलबहादुर रानाले रामपुरका कृषकको कृषिमा भएको लगावलाई देखेर नै बजेट विनियोजन गरिएको बताए । उनले खेतबारीबाट टिपेका तरकारी कुहिन नदिन र भण्डारणका निम्ति समेत सुरक्षित बनाइने जानकारी गराए  ।

कृषिका लागि उर्वरभूमि मानिने रामपुरमा पाँच सय हेक्टर जमीन कृषिका लागि उपयुक्त रहेको कृषि शाखा कार्यालयले जनाएको छ । सोमध्ये तीन सय हेक्टर क्षेत्रफल जमीनमा आलुखेती र अन्यमा अरु तरकारीखेती गरिँदैआएको छ । कृषि विकास अधिकृत रामहरि पाण्डेलले जिल्लामै आलुखेतीका लागि पकेटक्षेत्र रहेको रामपुर–८ मा कृषि उपज सङ्कलन केन्द्र बन्नु खुशीको कुरा भएको बताए  ।

गाउँमै कृषि उपज सङ्कलन केन्द्र सञ्चालन हुने भएपछि कृर्षक खुशी भएका छन् । “तरकारी टिपेर डालो डोको तथा बोरामा बोकेर पाल्पाको रामपुरसँगै स्याङ्जाको चापाकोट, दामाचौर लगायतका स्थानमा बिक्री गर्न लगे पनि बिक्री नहुने समस्या थियो”, कृषक यज्ञप्रसाद आचार्यले भन्नुभयो, “अब तरकारी सुरक्षित हुनेभयो, खुशी लागेको छ ।” सो सङ्कलन केन्द्रका लागि सङ्घीय संसद् विकास कोषबाट रु १० लाख छुट्याइएको छ ।

Advertisement

Advertisement

Advertisement