घरेलु तथा साना औद्योगिक प्रदर्शनी वैशाख २६ बाट, ७७ जिल्लाबाटै सहभागिता हुने

Advertisement

काठमाडौं । नेपाल लघु, घरेलु तथा साना उद्योग महासंघले आगामी वैशाख २६ गतेदेखि ३० गतेसम्म ३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी गर्ने भएको छ ।

महासंघले बिहीवार राजधानीमा पत्रकार सम्मेलन गरि मुलुकभर छरिएर रहेका घरेलु तथा साना उद्योगका उत्पादनलाई राष्ट्रिय बजारमा मुलप्रवाहिकरण गर्ने उद्देश्यले यस पटक पनि प्रदर्शनी गर्न लागेको जनाएको हो ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले साना उद्योगको उत्पादनको विविधिकरण र प्रवद्र्धन बिना स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नसकिने बताए । उनले स्वदेशी वस्तुको उत्पादन बढाई रोजगारका अवसर समेत सिर्जना गरी आर्थिक समृद्धि हासिल गर्न टेवा पुर्याउने, लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रदर्शनीको माध्यमबाट क्रेता बिक्रेताबीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्ने बताए ।

अध्यक्ष गिरीले घरेलु उत्पादनले राष्ट्रियस्तरमा माग अनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्न र मुलुकभरका उद्यमीहरुको सीप, प्रविधि र उद्यमशीलताको कदर गरि राष्ट्रियस्तरमा सम्मान र पुरस्कृत गर्ने उद्देश्य यो प्रदर्शनीलाई निरन्तरता दिएको बताए ।

पाँच दिनसम्म चल्ने यस प्रदर्शनीमा ७५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । यसमा दुई सयवटा लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको स्टल रहने छन् । करिब एक लाख ५० हजारले प्रदर्शनीको अवलोकन गर्ने अनुमान गरिएको छ भने पाँच करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रदर्शनीमा ७७ वटा जिल्लाबाट आउनेमध्ये हरेकलाई एउटा स्टल निःशुल्क उपलब्ध गराइने छ । महासंघले सय वटा स्टल भने बिक्रीमा रहेको जनाउँदै जसमा प्रति स्टललाई न्युनतम १० हजार रुपियाँ मूल्य तोकिएको वरिष्ठ कार्यक्रम अधिकृत जगन्नाथ पौडेलले बताए । स्टल बुकिङको लागि पहिला आउनेलाई पहिलो प्राथमिकता दिइने उनले जानकारी दिए ।

प्रदर्शनी प्रवेशका लागि सर्वसाधारणका लागि ३० रुपियाँ र विद्यार्थीकालागि १० रुपियाँको टिकट लाग्ने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement