कञ्चनपुरमा राजश्व सङ्कलनको दायरा बढ्दै

Advertisement

भीमदत्तनगर । आन्तरिक राजश्व कार्यालय कञ्चनपुरले यहाँका चार जिल्लाका व्यापारी/व्यवसायीलगायत करदाताबाट सङ्कलन गरिने राजश्व सङ्कलन बढाउँदै लगेको छ । चालू आर्थिक वर्षमा एक अर्ब ६१ करोड ७४ लाख रुपियाँ वार्षिक राजश्व सङ्कलनको लक्ष्य लिएको राजश्व कार्यालयले गत फागुनसम्म एक अर्ब २१ करोड रुपियाँ राजश्व सङ्कलन गरिसकेको छ ।

“चालू आवमा फागुनसम्मको लक्ष्य ९६ करोड ९६ लाख रुपियाँ राजश्व सङ्कलन भइसकेको छ”, प्रमुख कर अधिकृत लेखनाथ शर्माले भने, “सङ्कलन वृद्धिको दायरा हेर्दा चालू आवमा तोकिएको भन्दा ३० प्रतिशत राजश्व बढी सङ्कलन हुने देखिन्छ ।”

नियमितको बजार अनुगमन, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर उद्योग वाणिज्य सङ्घसित करसम्बन्धी अन्तरक्रिया, व्यापारी/व्यवसायीलाई बिलबिजक जगाउन उत्प्रेरणा, बजार अनुसन्धानलगायत सेवाग्राहीलाई दिइएको सुविधाले राजश्व सङ्कलन दर बढ्दै गइरहेको प्रमुख कर अधिकृत शर्माको भनाइ छ ।

‘बक्यौता नबुझाउनेमाथि कानूनी कारवाहीसमेत गरिएको छ”, शर्माले भने, “कार्यक्षेत्रमा पर्ने पहाडी जिल्लाका करदाताको सुविधाका लागि डडेल्धुरामा करदाता सेवा कार्यालय सञ्चालनमा ल्याइएको छ ।” गत आर्थिक वर्ष २०७४/७५ मा मुलुककै आन्तरिक राजश्व कार्यालयलाई उछिन्दै कञ्चनपुर प्रथम भएको थियो । गत वर्ष कार्यालयलाई एक अर्ब १९ करोड रुपियाँ वार्षिक राजश्व सङ्कलन गर्ने लक्ष्य दिइएकामा सो अवधिमा एक अर्ब ४८ करोड रुपियाँ राजश्व सङ्कलन गरेको थियो ।

“यो वर्ष करीब रु दुई अर्ब राजश्व सङ्कलन हुने अनुमान हामीले गरेको छौँ”, शर्माले भने, “करदाताको सुविधाका लागि इन्टरनेट प्रणालीबाट छिटोछरितो सेवा दिएका छौँ ।” विगतमा पनि राजश्व सङ्कलनमा अग्रस्थानमा रहेको कार्यालयले यहाँ मदिरा उत्पादक र वितरणमा पनि निगरानी बढाएको छ ।

“राजश्व नबुझाउनेको बैंक खातासमेत रोक्का गरेको स्थिति छ”, उनले भने, “अब कर छल्ने र आनाकानी गर्ने जोकोहीलाई पनि करको दायरामा ल्याउने विषयले प्राथमिकता पाएको छ ।” कार्यालयले करदातालाई हरेक वर्ष सम्मानसमेत गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement